कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्केकी हुन् ।
लगातार पाँचौँ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए। “उनको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने।
अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताइन्। “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।”
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्केकी हुन् । उनीसँगै हालसम्म ११ जना निको भएका छन् ।