काठमाडाैं । कोराना भाइरस नियन्त्रणका लागि डडेल्धुरामा खटिएका डा.गोविन्द केसीले सर्वसाधारण बिरामीलाई सार्वजनिक सवारीसाधन प्रयोग गरी अस्पताल ल्याउन आग्रह गरेका छन् ।
सडक यातायात ठप्प भए पछि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या बढेको भन्दै डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् ।
उनको विज्ञप्तिमा देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त रहेका बे सबैभन्दा ठूलो मार विपन्न र दूरदराजका रहेका दैनिक मजदुरी गरेर छाक टार्दै आएको उल्लेख छ ।
साथै, उनले जारी गरेको विज्ञप्तिमा ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको ध्यान पुगेको पनि उल्लेख छ ।
‘सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको छ,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु ।’
उनले दूरदराजका बिरामी निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य भएकाले फलोअपमा आउन नसकेका भन्दै बिरामीहरु उपचारबाटै वञ्चित भइरहेको बताएका छन् ।
साथै उनले विज्ञप्तिमा यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका बताएका छन् ।
‘यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।’