दाङ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् ।
यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ ।
बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ ।
यससँगै जिल्लाका सबै स्वास्थ्य संस्थामा १६१ शय्याको आइसोलेसन वार्ड छन् ।
प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा जिल्लाका मात्रै नभएर बाहिरबाट आउने बिरामीलाई पनि राखेर उपचार गरिने छ ।
त्यस्तै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेशन वार्ड छ । लमही अस्पतालमा पनि तीन शय्याको आइसोलेशन वार्ड तयार गरएको छ ।
दाङमा कोरोना संक्रमित तथा आइसोलेशनमा राख्नुपर्ने अवस्थाका बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डीस्थित कोरोना विशेष अस्पलताको आइसोलेशन वार्डमा उपचारको व्यवस्था गरिएको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध रहेको कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा सर्वेश शर्माले बताए ।
अहिले कोरोना विशेष अस्पतालमा ७० थान पिपिई रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ का फोकल पर्सन तथा कोरोना अस्पतालका सूचना प्रमुख कमल चन्दले जानकारी दिए । यहाँस्थित आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताल भवनमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आवश्यकता अनुसार पिपिइ रहेको कायममुकायम रजिष्ट्रार डा कैलाश देवले बताए । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा भने सीमित पिपिई हुँदा समस्या हुने गरेको छ ।
इलाका स्वास्थ चौकी हेकुलीका इञ्चार्ज टेकबहादुर खत्रीका अनुसार अहिले स्वास्थ्यचौकीमा सीमित पिपिई उपलब्ध रहेकाले सबै जनशक्ति प्रयोग गर्न नसकिएको बताए ।