जेठ ०४, २०८१, शुक्रबार
               

घर–घरमा पुगेर कोरोना टेष्ट

रासस
बैशाख ०२, २०७७

ADVERTISEMENT

डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको संक्रमण जाँच गर्न सुरु गरेको छ । टोलीले यहाँका नौवटै स्थानीय तहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने र्यापिड टेस्ट सुरु गर्न थालेको हो ।

अहिलेसम्म र्यापिड टेस्ट गरिएकाको २३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्यहबादुर विष्टले बताए । उनले भने, ‘हामीले घर घरमा गएर र्यापिड टेस्ट गर्न सुरु गरेका छौँ, टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।’
क्वारेन्टाइनमा रहेकाको स्वाब संकलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने र्यापिड टेस्ट (आरडिटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडिटी गरिएको हो ।

आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिलागरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको छ । शनिबारदेखि होम क्वारेन्टाइनमा बसेकाको समेत र्यापिड टेस्ट परीक्षण शुरु भएको प्रमुख मलासीले बताए । 

प्रादेशिक स्थिति
सुदूरपश्चिम प्रदेशकै तराइका दुइ जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको र्यापिड टेस्टमा २३८ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले र्यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो ।

जिल्ला स्वाथ्य कार्यालयले सबै स्थानीयतहका लागि आलग अलग स्वास्थ्यकर्मीको टोली बनाएर र्यापिड टेस्टका लागि पठाएको छ । र्यापिड टेस्ट रगत जाँचबाट गर्ने हुँदा नतिजा समेत चाडै आउने गर्छ । त्यस्तै जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

उनीहरुको नमुना परिक्षणका लागि काठमाडौं पठाइएको छ । स्वाब संकलन गरिएको रिपोर्ट नेगेटिभ आओस् भन्दै जिल्लावासीले कामना गरिरहेका छन् । भारतका विभिन्न शहरबाट कामगरी घर फर्किएर क्वारेन्टाइनमा राखिएकाको स्वाब संकलन गरिएको हो । क्वारेन्टाइनमा राखिएकाको बुधवार मात्रै नमूना अर्थात स्वाब संकलन गर्न गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणका बिरामीको संख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब संकलनका लागि विशेषज्ञ चिकित्ससहितको टोली डोटी आइपुगेको थियो । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाव संकलन गरेको छ । 

गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाव संकलन भएको सम्र्पक व्यक्ति विष्टले जानकारी दिए । उक्त गाउँपालिकामा दुइ जना सुरक्षाकर्मीसहित ७६ जनाको स्वाव संकलन गरिएको छ । जिल्लाका ६ ठाउँमा स्वाब संकलन गरिएको थियो ।

जिल्लामा केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुड्सिल गाउँपालिकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परीक्षण संकलन केन्द्र तोकिएको थियो । 

चार तहलाई २३ लाख रुपैयाँको स्वास्थ्य सामग्री 
कोरोना रोकथाम तथा नियन्त्रका लागि जिल्लाका चार स्थानीय तहलाई २३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले ती सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लाका शिखर नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। ती तहलाई सेनिटाइजर ९०० बोतल, साबुन एक हजार ८०० थान र सर्जिकल मास्क ६ हजार थान वितरण गरिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि