सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँन बाध्य छन् ।
दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक–दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरू फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताइन् । उनले भनिन् ‘कुनै दिन त सेवाग्राही नै आउँदैनन । के गरेर बस्नु त रु सेवा बन्द गरेर घर जानु भएन ?’
कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ । उक्त चौकीमा पुग्न सवारीसाधनको सहज पहुँच छैन । घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन् ।
स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिइन् । चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांशले घरमा नै सुत्केरी गराउने गरेका स्वास्थ्य चौकीको तथ्यांकले देखाएको छ ।
सो क्षेत्रको मुख्य बजार लालबन्दी रहेका कारण उपचार चौकीमा सेवाग्राही कम भएको जनाइएको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य चौकी नारायणखोलामा महिनामा बल्लतल्ल ३०–३५ सेवाग्राही आउने गरेका जानकारी दिए उक्त स्वास्थ्य चौकीमा अहिले दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी कार्यरत छन् ।
उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ ।
नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सो सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।