जेठ ०५, २०८१, शनिबार
               

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलो पटक सहायता कक्ष स्थापना गरिएको छ । वागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताए । 

प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउँदै सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्नेमा जोड दिए ।

वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताए ।

कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ । अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ । सहायता कक्षमा तीनजना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताए ।

समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा यहाँ आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने बताए । 

भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुबै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ । ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि