जेठ ०१, २०८१, मंगलबार
               

मिर्गौला पीडित किशोरीले गरिन् जीवन बचाइदिन आग्रह

रासस
चैत ०३, २०७६

ADVERTISEMENT

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी  मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् ।

उक्त रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक आग्रह गरेकी हुन् । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् ।

गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

मिर्गौला उपचारकारको क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए । अहिले उनको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नभएपछि चिकित्सकले काठमाडौं रिफर गरेका छन् । ‘पैसा छैन कसरी काठमाडौ जानु  र ? डाक्टर सरले छिटो काठमाडौं जानुस् भन्नुभएको छ,’ गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् ।

उनका बुबा आमाले मजदूरी गरेर दैनिक छाक टार्दै आएका छन् । ‘उपचार गर्न परिवारसँग पैसा छैन, मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु’, उनले भनिन् ।

१२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी उनले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत सुरुआत गरेकी थिइन् ।

किशोरीका बुबा सुरेश परियारका अनुसार आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि १८ देखि २० लाख रुपैयाँसम्म खर्च हुने चिकित्सकले बताएको जानकारी दिए ।

उनले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गरेका छन् । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम सुरु भएको छ ।

स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन सुरु गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि