बैशाख २१, २०८१, शुक्रबार
               

अब बसभित्रै रक्तदान सकिने

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । 

रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा एक करोड रुपैयाँ लगानीमा शाखाले उक्त बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए ।

शनिबारदेखि नै उक्त बसभित्र रगत संकलन सुरु भएको जनाइएको छ । एम्बुलेन्सभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । समग्र गण्डकी प्रदेशलाई उक्त सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ ।

भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त  बस वातानुकूलित (एसी) रहेको जनाइएको छ । दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै, रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन् ।

बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने छ ।

उक्त सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र म्याग्दीसम्म एम्बुलेन्स पुगी रगत संकलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको शाखाका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि