जेठ ०४, २०८१, शुक्रबार
               

भाडाको भवनमा स्वास्थ्य संस्था

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

दाङका २९ वटा स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा गरिरहेका  छन् । राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बंगलाचुली गाउँपालिकाका दुई, शान्तिनगर गाउँपालिकाका तीन,  तुलसीपुर उपमहानगरपालिकाका सात, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् । 

त्यस्तै, राप्ती गाउँपालिकाका तीन र बबई गाउँपालिकाको एक स्वास्थ्य संस्था पनि भाडाको भवनमा सञ्चालनमा आएका छन् । दाङको गढवा गाउँपालिकामा भने सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । 

 घोराही उपमहानगरपालिका–१ का लागि बजेट छुट्याइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । वडा नं १५ मा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा नपाएका कारण भवन बन्न केही समय लाग्ने उनले बताए।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थामध्ये वडा नं २ र ६ मा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण अन्तिम चरण रहेको र यही आर्थिक वर्षमा सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । अरु वडाको काम यो वर्षमा ४० प्रतिशत हुने र अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम पूरा गर्ने उनले बताए।

त्यस्तै, लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आर्चायले स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था स्थापना गर्नका लागि प्रक्रिया सुरु भएको जानकारी दिए ।  

 शान्तिनगर गाउँपालिकामा पनि आफ्नै भवनमा स्वास्थ्य संस्था नभएका वडामा भवन बन्ने प्रक्रियामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुन बताउँँछन् । राजपुर गाउँपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थाको भवन बनाउनका लागि बोलपत्र प्रक्रिया भई भवनको काम भइरहेको र अबको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको कमल रोकायाले जानकारी दिए । 

    दङ्गीशरण गाउँपालिकामा भने गएको वर्षमा गाउँपालिकाबाट केही बजेट छुट्याएर भवन निर्माणको काम भइरहेको स्वास्थ्य शाखा संयोजक दशरथ गिरीले बताए । बबई गाउँपालिकामा तीन स्वास्थ्य संस्थाका लागि भवन निर्माण भइरहेको र यही आर्थिक वर्षसम्म भवन निर्माण हुने हरि खड्काले जानकारी दिए ।

बगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम भइरहेको र अबको दुई महिनामा भवन निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिए । 

राप्ती गाउँपालिकामा भाडाको वडा नं ४, ६ मा यो आर्थिक वर्षमा भवन निर्माण हुने र वडा नं ९ मा रहेको स्वास्थ्य संस्थाका लागि सरकारबाट बजेट नपरेकाले केही समय लाग्ने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो ।  दाङका १० स्थानीय तहका १०० वडामध्ये सात वडामा स्वास्थ्य संस्था पुगेका छैनन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि