बैशाख २२, २०८१, शनिबार
               

रगत अभावले बिरामीलाई समस्या

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

चितवन । रक्तदानका कार्यक्रम नभएपछि  यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा  रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए । 

उनले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको बताए । सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् । 

विद्यालय, विभिन्न सामाजिक संघसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित हुँदा रगत संकलन गर्न कठिन परेको सभापति न्यौपानेले बताए ।

‘रक्तदान कार्यक्रम नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत् संकलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ’, उनले भने । 

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । 

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ । कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायत जिल्लाबाट रगत संकलन गरेर ल्याउने गरेको थियो ।

ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ । जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ ।

यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा रगत आवश्यक पर्दछ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि