जेठ ०८, २०८१, मंगलबार
               

कोरोना प्रकोप : इरानमा एकै दिन ५४ जनाको मृत्यु

रासस
फागुन २७, २०७६

ADVERTISEMENT

इरानमा करोनाभाइरसको सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको यो नै पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन् । 

पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले जानकारी दिएका छन् । 

उनले कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८ सय ८१ जनामा कोरोना भएको पुष्टि भएको पनि बताए । इरानमा अब सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या ८ हजार ४२ पुगेको छ । 

जोहानपोरले यसबिच २ हजार ७ सय ३१ जना भने स्वस्थ्य भएर घर फर्केको बताए । 

कोरोनाको सङ्क्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ । त्यहाँ २ हजार १ सय १४ जना सङ्क्रमित भएका छन् । 
क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८ सय ८६ जना तथा क्वोममा ७ सय ५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

इरानले अझैसम्म आधिकारिक रूपमा मानिसहरूलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरु बन्द गर्न आदेश भने दिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि