जेठ ०४, २०८१, शुक्रबार
               

गुम्बा गाउँमा देखिएको सङ्क्रमण कोरोना नभएको दाबी

रासस
माघ २९, २०७६

ADVERTISEMENT

मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँलाई भाइरल सङ्क्रमणले ग्रस्त बनाए पनि त्यो कोरोना भाइरसको सङ्क्रमण हुने सम्भावना नरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफू मङ्गलवारदेखि नै अनुसन्धानमा लागेको र सो गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना भाइरसको सक्रमण फैलिने सम्भावना अत्यन्त न्यून रहेको बताए । 

उनका अनुसार आफूहरूले सो गाउँमा आएका र गएका बारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए । सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार सुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईँले बताए । साथै त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरूले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली

त्यसतर्फ पठाउने जानकारी गराएको पनि बताए । सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा पर्छ । अहिले जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् ।

गाउँमा १५० जनामा रुघाखोकी र ज्वरो देखिएको तथा १० जनाको उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जनकारी दिए । गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो ।

दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पन्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् । आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरूमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि