बैशाख १४, २०८१, शुक्रबार
               

फुटबलमा इतिहास दोहोर्‍याउँदै इटाली

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

२०१६ को युरोकपमा क्वाटरफाइनलमा रोकिएको इटालीले २०१८ को विश्वकपको छनोटचरण पार गर्न सकेन । जसलाई इटालीको कालो अध्याय भनेर धेरैले सम्झन्छन् ।

त्यसपछि प्रशिक्षक रोबर्टो मान्सिनीको आगमन भयो । टिममा धेरै परिवर्तन भयो । एक समय अधोगतिमा लागेको इटालीलाई उनले आज युरोपेली राष्ट्रमध्ये पहिलो नम्बरमा उभ्याएका छन् । 

वेम्बलीमा घरेलु टोली इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा तीन दुई गोलले हराएपछि इटालियन खेलाडीहरूको खुसीको सीमा थिएन । आइतबार राति इटालियन समर्थकले इङ्ल्यान्डमाथि कब्जा जमाएका थिए ।

वेम्बलीमा इटालीको राष्ट्रिय गान मात्र गुन्जिरहँदा टचलाइन रहेका प्रशिक्षक रोबर्टो मान्सिनीले आशु थाम्न सकेनन् । खेल सकिएपछि उनले भने मैले बाचा पुरा गरे । उनले इटालीको नेतृत्व सम्हालेको तीन वर्ष पचास दिन मात्र भयो । यति छोटो समयमा युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि दिलाए ।

२०१८ को विश्वकपमा छनोट नभएको इटालीले उनको नेतृत्वमा पहिलोपटक साउदी अरेबियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । यो अवधि आफ्नो र टिमका लागि निकै कठिन रहेको उनले मिडियालाई बताए । त्यो समय इटालीको आलोचनामात्र हुन्थ्यो । इटालीका समर्थकले त्यो अवधिलाई कालो अध्याय भन्छन् ।

आइतबार रातिबाट भने इटालीको इतिहास पल्टेको छ । युरोकप खेल्नुअघि इटालीले २७ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । समूह चरणमा तीनै खेल जित्यो । त्यसपछि उसका लागि कठिन प्रतिद्वन्द्वी रहे । अन्तिम १६ मा अष्ट्रियाविरुद्ध अन्तिम समयमा एक गोल गरी दुई एकको जित हात पारी उसले क्वाटरफाइनलको यात्रा तय गर्‍यो ।

त्यसपछि उसले कठिन प्रतिद्वन्द्वीलाई पछि पार्दै फाइनलको यात्रा तय गर्‍यो । क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियम र त्यसपछि स्पेनलाई पन्छाउनु चानचुने कुरा थिएन । स्पेन त्यही देश हो जसले २०१२ को युरोमा फाइनलमा हराएर इटालीलाई खाली हात फर्काइदिएको थियो ।

यसपटक त्यसको बदला लिएर ऊ फाइनल पुग्यो र साउथगेटको टिम इङ्ल्यान्डलाई हराउँदै युरोपेली च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गर्‍यो । त्यो पनि ५३ वर्ष पछि । १९६६ पछि उसले युरोको दोस्रो उपाधि उचालेको हो ।

मान्सिनीले वेञ्चका खेलाडीलाई पनि न्याय गरे । फाइनलसम्म स्वक्वाडका २६ जना खेलाडीलाई मैदानमा उतारेका थिए । लियोनार्दो बोनुची, जर्जियो चेलीनी जस्ता भेट्रान डिफेन्डरले आफूलाई प्रमाणित गरे । गोलरक्षक ग्यान लुइगी ड्यान्नारुम्मा, मिडफिल्डर जोर्गिन्हो, मार्को भेराटी, स्ट्राइर फेडेरिको चियसाजस्ता खेलाडी इटालीको भविष्य सुन्दर छ भन्ने सन्देश दिए ।

पूर्व टिम मेट्स जानलुका भियाल्ली र अटिलो लोम्बार्दोले उनलाई सघाइरहेका छन् । उनले इटालीलाई तीन वर्षमा युरोपको शीर्ष स्थानमा राखिसकेका छन् । अब विश्व कब्जा गर्न बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि