बैशाख २४, २०८१, सोमबार
               

पूर्वको लाइफलाइन : विराटनगर संयुक्त भन्सार जाँच बिन्दु

ADVERTISEMENT

विराटनगर । भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै विराटनगरमा बनाइएको संयुक्त भन्सार जाँच बिन्दु ‘जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट’(आइसिपी) सञ्चालनमा आएपछि आयात निर्यात सहज भएको छ ।

विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको आइसिपी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गरिरहेका छन् । मुलुकको व्यापार सहजीकरणको लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत उक्त चौकी निर्माण गरिएको हो ।

अन्तर्राष्ट्रियस्तरको संयुक्त आइसिपी भारत सरकारले निर्माण गरी दुई महिनाअघि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरणलगत्तै सञ्चालनमा आएपछि व्यापार प्रवर्द्धनका लागि महत्त्वपूर्ण कोसेढुंगा बनेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी बताउँछन् । उनले भने– ‘आइसिपी सञ्चालनमा आएपछि नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न निक्कै मद्दत पुगेको छ, यसअघि सवारीको चापका कारण हुने ट्राफिक जाम हटेको छ । भन्सारमा हुने गरेको चोरी–पैठारी र राजश्व चुहावट पनि नियन्त्रणमा आएको छ ।’

आयात निर्यातकर्तासँग सम्बन्धित कागजपत्र र राजश्व रकम दाखिला भएमा तत्कालै आयात निर्यातका काम हुने उनले बताए । विराटनगर भन्सार कार्यालय राजस्व असुलीको दृष्टिकोणले वीरगन्ज र भैरहवा भन्सार कार्यालयपछि तेस्रो स्थानमा पर्छ । यहाँ आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या तथा सरकारी पक्षलाई हुँदै आएको व्यवस्थापनको समस्या समाधान भएको प्रमुख भन्सार अधिकृत भण्डारीको अनुभव छ ।

के के छन् आइसिपीमा ?

भारतको नाम चलेको निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालिले नेपालतर्फको आइसिपी निर्माणको जिम्मा पाएको थियो । उसले निर्माण गरेको आधुनिक र सुविधासम्पन्न ‘जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट (आइसिपी) मा ८ वटा प्रशासनिक भवन र ५ वटा प्रोसिसेड भवन छन् । ९ किलोमिटर सडक र अढाई किलोमिटर नाला पनि बनेको छ । सडक छेउमा बत्ती, हरियाली बगैँचा, पार्किङस्थललगायतका संरचना छन् । जुन मोरङको विराटनगर महानगरपालिका १८ बुधनगरमा १ सय २८ विगाहा जग्गामा निर्माण गरिएको हो । जुन ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको छ ।  

दुई महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भिडियो कन्फ्रेन्सको माध्यमद्वारा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । भारततर्फ भने २०७४ कात्तिकदेखि जोगवनीमा जाँच चौकी सञ्चालनमा आएको थियो । नेपाल–भारत दुवैतर्फ एकैचोटी निर्माण सम्पन्न भएर आइसिपी सञ्चालनमा ल्याउने योजना थियो । नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरणमा ढिलाइ हुँदा नेपालतर्फको निर्माणमा धकेलिएको थियो । २०७३ मंसिरमा मात्र नेपाल सरकारले जग्गा हस्तान्तरण गरेको थियो ।

भारतले दिएको महत्त्वपूर्ण उपहार

आइसिपी सञ्चालनमा आएपछि नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न चौकीले सहयोग पुगेको निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालिका सिनियर डिजिएम घनश्याम शर्माको भनाइ छ । आफूहरूले सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको उनको दाबी छ ।

दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन आइसिपीको महत्त्वपूर्ण भूमिका हुने निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालिका प्रोजेक्ट मेनेजर अवदेश साह बताउँछन् । उनी भन्छन् ‘आइसिपीमा भन्सार, इमिग्रेसन, भन्सार, बैंकर, सुरक्षाको लागि प्रहरी चौकी, क्वारेन्टाइनलगायतका संरचना बनेका छन् । जसबाट सामान आयात र निर्यातमा निक्कै सहजता देखिएको छ, यसैले आइसिपी नेपाललाई भारतले दिएको महत्त्वपूर्ण उपहार हो ।’

आइसिपी सञ्चालनपछि विराटनगर भन्सार पनि अन्य भन्दा अझ बलियो भएको र व्यवस्थित भएको व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालका गणेश घिमिरेले बताए ।

विशाल भारतको अर्थतन्त्रका लागि विराटनगर आइसिपी ठुलो पूर्वाधार नभए पनि भारतको ठुलो जनसङ्ख्या भएका सीमावर्ती राज्यहरूका लागि उत्तिकै महत्त्वपूर्ण रहेको स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतो बताउँछन् । विराटनगरमा आइसिपी सञ्चालनपछि नेपालको अर्थव्यवस्था तथा आयात निर्यातमा पर्ने सकारात्मक प्रभावका विषयमा  भन्सार प्रमुख, व्यवसायी, सरोकारवाला, पत्रकारलगायतसंग केहीदिन अघि छलफल कार्यक्रम राखेका महतो  भन्छन्, ‘वैदेशिक व्यापारमा नेपालको सबैभन्दा बढी सम्भावना भएको मुलुक भारत नै हो र भारतसँगकै पूर्वाधारलाई यसरी महत्त्वका साथ अघि बढाइनु सह्रानीय कदमसमेत हो ।’

विराटनगर आईसीपीको उद्घाटनसँगै नेपालका मुख्य सीमा नाकाहरूमा पनि यस्तै ठुला पूर्वाधारजन्य आयोजनाको खाँचो देखिएको झाले औँल्याए ।

के हो दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालि ?

दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोनले चार दशकदेखि भारतको पूर्वाधार क्षेत्रमा ठुला–ठुला आयोजना निर्माण गर्दै आइरहेको छ । भारतको पूर्वाधार विकासको क्षेत्रमा अग्रसरता लिइरहेको सो कम्पनीले सयौँ ठुला आयोजनाको निर्माण गरिसकेको छ । साथै उसले अहिले पनि दर्जनौँ ठुला परियोजनाको निर्माण गरिरहेको छ । भारतको शीर्ष निर्माण कम्पनीहरूमध्ये एकमा सो कम्पनीसँग ४ हजार जना भन्दा बढी दक्ष तथा अनुभवी प्राविधिक तथा कर्मचारीहरू छन् । दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोनसँग गुणस्तरीय, उत्कृष्ट र तोकिएको समयै निर्माण पुरा गर्ने कामको प्रशंसा हुने गर्छ । यसको केन्द्रीय कार्यालय भारतको गुजरातको अहमदवादमा छ । उक्त कम्पनीका अध्यक्ष दिनेशचन्द्र आर अग्रवाल हुन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि