बैशाख २४, २०८१, सोमबार
               

मृत्युको प्रतिक्षा र बाँच्ने आसाको दोसाँधमा प्रेजलर

एजेन्सी
चैत ०५, २०७६

ADVERTISEMENT

मानिसको श्वास प्रश्वास प्रक्रियालाई कमजोर बनाएर ज्यानैसम्म लिने कोभिड–१९ बाट सङ्क्रमित भएको पाँचौँ दिनदेखि कारोलिन प्रेजलरलाई फोक्सोमा निकै पिडा हुन थाल्यो । उनको हरेक सास अत्यधिक पीडा दिएरै फोक्सोसम्म पुग्थ्यो ।

जर्मनीको उत्तर पूर्वी भेगको एउटा सानो सहरकी बासिन्दा ४८ वर्षिया प्रेजलर अहिले पनि त्यो रोगबाट मुक्त हुन सकेकी छैनन् अनि निकै कमजोर पनि बनेकी छन् । अस्पतालको आइसोलेसन वार्डमा उनी राम्रोसँग निदाउन सकेकी छैनन् । हरेक रात ३ घण्टाभन्दा बढी उनी आँखा चिम्लिँदिनन् । उनलाई त्यहाँ पनि पति र ३ सन्तानको चिन्ताले सताइ रहन्छ ।

‘मलाई सधैँ सन्तानको कमी महसुस भइरहन्छ । उनीहरू पनि मलाई मिस गर्छन् । हामी एक अर्काको नजिक पनको कमी महसुस गर्दैछौं । साथै सत्य यो पनि हो, अब हामी कहिल्यै एक अर्कालाई अङ्कमाल गर्न पाउँदैनौँ,’ टेलिफोन संवादमा प्रेजलरले भनिन् ।

बार्थको बाल्टिक समुन्द्र तटकी बासिन्दा प्रेजलर पेसाले वकिल हुन् भने स्थानीय तहकी राजनीतिज्ञ पनि । गत साता जब उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको थाहा पाइन्, त्यसको केही घण्टाअघि मात्रै उनमा कोभिड–१९ का लक्षणहरू देखा पर्न थालेका थिए । राज्य स्तर सांसद रहेका उनका पतिमा त्यसअघि नै कोरोना भाइरसको सङ्क्रमण देखिएको कारण उनलाई बर्लिनमा नै आइसोलेसनमा राखिएको थियो । 

त्यस बेला ती दम्पतीका ९ वर्षका जुम्ल्याहा र ११ वर्षको सन्तानमा गरिएको परीक्षणको नतिजा नकारात्मक आएपछि उनीहरूलाई आमासँगै घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको थियो । जब प्रेजलरको अवस्था गम्भीर बन्न थाल्यो, त्यसपछि उनका पतिलाई बार्थ फर्कने र सन्तानको हेरविचार गर्ने अनुमति दिइएको थियो ।

एक्लै रोगसँग सङ्घर्ष गरिरहेकी कमजोर प्रेजलरले कोरोना भाइरससँग कसरी लड्ने भनेर सङ्क्रमितहरू कै सुझाव लिन इन्टरनेटमा निकै कसरत गरिन् तर, कुनै नतिजा हात पार्न सकिनन् । त्यसपछि उनले आफ्ना अनुभवहरू ट्विटरमा साझा गर्ने मन बनाइन् । अहिले उनलाई झन्डै ५ हजारले पच्छाइरहेका छन् ।

जर्मन भाषामा ह्यासट्याग #coronatagebuch अर्थात् कोरोनाडायरीको नाममा उनको ट्विटर ह्यान्डल छ । जसमा उनी निरन्तर आफ्नो अवस्था र तस्बिरहरू शेयर गर्छिन् । उनी निराश आँखा र मास्कले छोपिएको अनुहारको सेल्फी लिन्छिन्, प्रोटेक्टिभ गियर लगाएर काम गरिरहेका सफाइ कर्मचारीको तस्बिर खिच्छिन् अनि सानो पाइपबाट अक्सिजन लिइरहेको सेल्फी खिच्छिन् । लाग्छ, अहिले उनको संसार त्यति मै सीमित भएको छ ।

साथै उनकी मनका कुराहरू नलुकाईकन आफ्नो भावुकता पनि पोख्छिन् । कहिले सकारात्मक त कहिने नकारात्मक भावना । सारा संसार कोरोना भाइरसको महामारीबाट त्रसित भइरहेको समयमा व्यक्तिगत रूपमा एउटा सङ्क्रमितको मनका ज्वारभाटा कसरी उम्लेर आउँछ, भावनाका भेल कसरी बहेर आउँछ भनेर उनले चित्रण गर्ने प्रयास गरेकी छन् ।

कसैलाई श्वास फेर्न कठिन भइरहेको छ भने खाना बचाऔँ । खाना खाँदा निकै थकित भइन्छ । मेरो फिटनेस ट्रयाकर मेरो वजन घटेकोमा गर्व गर्दै छ । मेरो तिघ्रामा देखिन थालेको हड्डीलाई स्वागत छ, म बाँचे भने तिमीसँग सदाका लागि बिदा लिने छु

‘प्रिय कोरोनाडायरी, म सङ्क्रमित भएको आज दोस्रो दिन हो ... म बिरामी छु, मेरो फोक्सो मलाई नै एउटा विशाल गाँठो जस्तो लागी रहेको छ । मन चिन्ताले चिन्तित छ । पिताले परिवारको हेरचार गर्न पाइरहेका छैनन् । जिन्दगी र मृत्युको दुरीलाई भिडियोच्याटले कम गरेको छ । कोरोनाको अर्थ बिदाइ हो,’ अस्पताल भर्ना हुनुअघि घर कै क्वारेन्टाइनमा बसेकी प्रेजलरले भावुक हुँदै ट्विट गरेकी छन् ।

८ करोड ३० लाख जनसङ्ख्या रहेको जर्मनीमा देखिएका ७ हजार ३ सयभन्दा बढी कोरोना सङ्क्रमित मध्ये प्रेजलर पनि एक हुन् । कोभिड–१९ को सङ्क्रमणपछि धेरै जनालाई हुने निमोनियाले उनलाई छोएको छैन अनि कतिपय लक्षण पनि देखिएका छैनन् । तर पनि, उनकै उमेरमा सङ्क्रमित हुनेलाई भन्दा उनलाई बढी गलाइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन कै अनुसार कतिपय कोरोना भाइरस सङ्क्रमितमा साधारण लक्षण मात्र पनि देखिन सक्छ, जस्तै ज्वरो र खोकी मात्र पनि । बुढापाका तथा दिर्घरोगीलाई भने निमोनियासहित अन्य घातक रोगले पनि समात्न सक्छ । यो रोग लागेर धेरै मानिस स्वस्थ्य भएका छन् । विश्व स्वास्थ्य सङ्गठन कै अनुसार सङ्क्रमणपछि साधारण लक्षण देखिएका बिरामीहरू २ साता मै निको हुन्छन् । तर, बुढापाका र दिर्घरोगीलाई स्वस्थ्य बन्न भने ३ देखि ६ साता लाग्छ ।

प्रेजलर जब कोरोना भाइरसबाट सङ्क्रमित भइन्, त्यसको एक दिनपछि मात्रै उनमा श्वास प्रश्वासको समस्या देखिन थाल्यो । त्यसपछि उनले आफ्ना सन्तानलाई त्यो रोग नसरोस् भनेर घर मै आइसोलेसन कक्ष बनाइन् र त्यहाँ बसिन् । जब रोगका कारण उनले खाना पकाउन सकिनन् । उनका सन्तानले भान्छाको जिम्मेवारी सम्हाले । उनका मित्रले बजारबाट सामान किनेर ल्याइदिन्थे अनि घर बाहिरै छाडेर जान्थे । कोही पनि उनको घरभित्र पस्न चाहँदैन थिए ।

‘उनीहरूले हाम्रा लागि धेरै नै आलु ल्याइदिएका छन्,’ प्रेजलरले ट्विट गरेकी छन्, ‘त्यसैले आजकाल मेरा बच्चाहरू घरमा पटाटो चिप्स बनाएर खान्छन् ।’ 

साथै, उनी कोरोना बारे फैलाइएको भ्रम र यथार्थका बारे पनि लेख्छिन् ।

‘प्रिय कोरोनाडायरी ! म सकारात्मक भएर भन्छु ... कसैलाई श्वास फेर्न कठिन भइरहेको छ भने खाना बचाऔँ । खाना खाँदा निकै थकित भइन्छ । मेरो फिटनेस ट्रयाकर मेरो वजन घटेकोमा गर्व गर्दै छ । मेरो तिघ्रामा देखिन थालेको हड्डीलाई स्वागत छ, म बाँचे भने तिमीसँग सदाका लागि बिदा लिने छु,’ उनले सङ्क्रमित भएपछि दोस्रो दिन लेखेकी थिइन् ।

पति घरमा नफर्किएसम्म उनी सन्तानलाई छाडेर कतै गइनन् । घर कै क्वारेन्टाइनमा बसिरहेकी थिइन् । यसले पनि उनको स्वास्थ्यमा निकै क्षति पुर्‍यायो । 

‘केही मानिस हामी पछि पनि मर्ने छन् । यस्तो सोच्दा मन भयभीत हुन्छ,’ प्रेजलर भन्छिन्, ‘मानिसहरू निकै भयभीत र असुरक्षित महसुस गरिरहेका छन् ।’

जर्मनीको राजधानीमा क्वारेन्टाइनमा बसेका उनका पतिले गाडी चलाएर घर फर्कने अनुमति पाए । तर, समान्यरुपमा सङ्क्रमित भए पनि उनका पतिले प्रोटेक्टिभ गियर लगाएर मात्रै गाडी चलाउने अनुमति पाएका थिए । साथै उनले घरसम्म आइपुग्दा कतै गाडी नरोक्ने निर्देशन पनि पाएका थिए । इन्धन भर्नका लागि समेत । पति घर आइपुगेको भोलिपल्ट प्रेजलरलाई स्ट्राल्सन्डको अस्पतालमा भर्ना गरियो । त्यसपछि मात्र उनको उपचार सुरु भएको थियो । तर, अहिले उनी कहिले निको हुन्छिन् भनेर डाक्टरले पनि भन्न सकिरहेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले अहिले एसिया, युरोप तथा अमेरिकालाई सङ्कटमा पारेको छ । यो रोगबाट अहिलेसम्म १ लाख ९० हजार जना सङ्क्रमित भइसकेका छन् भने ७ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । साथै ८० हजारभन्दा बढी स्वस्थ्य भएर घर फर्किसकेका छन् । 

प्रेजलरका अनुसार सामाजिक सञ्जालमार्फत उनले सकारात्मक र मनोबल बढाउने सल्लाह पाइरहेकी छन् ।

‘केही मानिस हामी पछि पनि मर्ने छन् । यस्तो सोच्दा मन भयभीत हुन्छ,’ प्रेजलर भन्छिन्, ‘मानिसहरू निकै भयभीत र असुरक्षित महसुस गरिरहेका छन् ।’


कस्तो लाग्यो ?

यो पनि