बैशाख २४, २०८१, सोमबार
               

प्रधानमन्त्री सक्रिय, टेरेनन् चिकित्सकको सुझाब

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्रिय हुन ६ महिना लाग्ने भए पनि उनले डिस्चार्जलगतै नियमित काम गर्न थालेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका ओली १२ घण्टा नबित्दै सक्रिय बनेका हुन् । १२ दिन लामो अस्पताल बसाइपछि बालुवाटार फर्किएका ओलीले लगतै राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री बढी भेटघाटमा सक्रिय हुँदा सङ्क्रमणको समस्या रहने भन्दै भेटघाटलाई कम गर्न चिकित्सकहरूले सुझाव दिँदै आए पनि उनले मानेका छैनन् ।

सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले राजनीतिक भेटवार्ता तीव्र बनाएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा नेताहरूसँग भेटघाट तथा छलफल गरेका उनी आइतबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार नै पुगेर काम गर्न लागेका छन् । 

शनिवार दिनभरजसो सक्रिय

प्रधानमन्त्री ओली शनिवार दिनभरजसो नै व्यस्त बने । उनका काम मुख्य गरी बेग्लाबेग्लै भेटघाट र छलफल नै थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टी महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थमन्त्री भानुभक्त ढकाललगायतसँग उनले छलफल गरे ।  अध्यक्ष दाहालले भेट गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । दुई अध्यक्षबीच पार्टी सञ्चालनका विभिन्न विषयमा समेत छलफल भयो ।

लगत्तै नेकपा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिए । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरे । प्रधानमन्त्री ओली र नेपालबीच पछिल्लो राजनीतिक अवस्था बारेमा पनि संक्षिप्त कुराकानी भएको थियो ।

कोरोना नियन्त्रणका विषयमा छलफल

प्रधानमन्त्रीले शनिवार नै रक्षामन्त्री तथा कोरोना रोग सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेटघाट र छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका थिए ।

सचिवालय र पार्टी महासचिवसँग छलफल 

प्रधानमन्त्रीले शनिवार नै नेकपाका महासचिव विष्णु पौडेलसहित आफ्ना सल्लाहकार टिमसँग भेटघाट र छलफल गरेका हुन् । महासचिव पौडेलसहित प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापासँग छलफल गरेका हुन् ।

आइतबार पनि सक्रिय  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री आइतबार पनि दिनभरजसो सक्रिय हुने कार्यतालिका छ । आईताबर बिहान पनि उनी अघिल्लो दिन बिहान जस्तै भेटघाट तथा छलफलमा व्यस्त रहे  । बिहान आफ्ना सचिवालयका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । राजनीतिक सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार भट्टराई, प्रेस सल्लाहकार  थापासँग उनले समसामयिक विषयमा छलफल गरेका छन् ।

त्यसपछि ११ बजे उनी पुन फलोअप उपचारको लागि शिक्षण अस्पताल महाराजगन्ज पुगे । उनी नियमित स्वास्थ्य जाँचका लागि फलो अपमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको अस्पताल महाराजगन्ज पुगेका हुन् । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओलीले फलो अपका उपचार गराए ।

सार्क सदस्य राष्ट्रबीच भिडियो संवाद 

साँझ समेत प्रधानमन्त्री ओली केही समय व्यस्त रहनेछन् । विश्वभरि फैलिरहेको कोरोना भाइरसको जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरूले साझा रणनीति बनाउने विषयमा सिंहदरबारमै बसेर छलफल गर्ने छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरूले भिडियो संवादमार्फत आईतबार साँझ छलफल गर्दैछन । भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्बोधन गर्ने  प्रेस सल्लाहकार थापाले जानकारी दिए । सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुने छन् ।
ओलीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीह, श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोटे छिरिङलगायत छलफलमा हुनेछन् । भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ । १८औँ शिखर सम्मेलनपश्चात् गतिविधि शून्यजस्तै भएको बेला शनिवार हुने भिडिओ वार्ताले सार्क ब्युँताउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सक्रियता आवश्यकता कि बाध्यता ?

दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको पछिल्लो अप्रेसन चिकित्सकका अनुसार ‘सिरियस केश’ हो । यसको मतलब उनी सामान्य अवस्थाभन्दा शारीरिक रूपमा कमजोर छन् । मिर्गौला प्रत्यारोपण गरेको एक साता नपुग्दै उनले डिस्चार्ज गर्न आग्रह गरेका थिए । तर उनको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै चिकित्सकले १२ दिनपछि मात्र डिस्चार्ज गरेको थिए । 

डिस्चार्ज लगतै प्रधानमन्त्री ओली सक्रिय हुन आफैले चासो देखाएका हुन् । प्रधानमन्त्रीको सवास्थ पूर्ण ठिक नभइसके पनि अहिले सक्नेजति काम गरिरहेका उनका प्रेस सल्लाहकार सूर्य थापा बताउँछन् । उनले नेपाल फ्ल्याससँग भने– ‘उहाँले चिकित्सक सुझावलाई मध्यनजर गर्दै आफूले सक्ने कामलाई निरन्तरता दिनुभएको हो, छिट्टै निको हुन्छु भन्ने उहाँलाई आत्मविश्वास छ ।’

आक्रमणको चिन्ता
प्रधानमन्त्री बढी भेटघाटमा सक्रिय हुँदा सङ्क्रमणको समस्या रहने भन्दै भेटघाटलाई कम गर्न भने चिकित्सकहरूले जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओली पूर्ण रूपमा स्वस्थ हुन ६ महिनादेखि वर्ष दिन लाग्ने चित्किसहरुको बताएका छन् । यो कुरा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले नै सार्वजनिक रूपमा बताएकी थिइन् । प्रधानमन्त्रीले यो समयमा सकेसम्म आराम गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनको २१ फागुनमा मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाताकी समीक्षा सङ्ग्रौलाले मिर्गौला दिएकी हुन् । करिब १२ दिनको अस्पताल बसाईपछि उनी शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।
 


कस्तो लाग्यो ?

यो पनि