बैशाख १६, २०८१, आइतबार
               

गान्धीवादी सोच र आजको कास्मिर

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

अगस्ट १९४७ को पहिलो साता ७१ वर्षका महात्मा गान्धी लौरो टेकेर कास्मिर पुगेका थिए, यात्रा कस्टकर भएपनि व्यक्तिगत कर्तव्य र राष्ट्रिय सम्मानले उनलाई त्यहाँसम्म डोर्‍याएको थियो । भारत स्वतन्त्र हुँदै थियो र विभाजित पनि ।

अधिकांश राज्य भारत वा पाकिस्तान कहाँ रहन्छन् भनेर टुंगो लागिसकेको थियो – जम्मु–कस्मिर अपवाद रह्यो ।
यस राज्यको ठूलो आवादी मुस्लिमको थियो र यहाँका लोकप्रिय नेता शेख अब्दुल्ला धर्मनिरपेक्ष थिए, जुन पाकिस्तानलाई चित्त बुझिरहेको थिएन । 

यहाँका शासक महाराजा हरि सिंह हिन्दू थिए, तर उनी भारत र पाकिस्तान दुवैतर्फ जान चाहँदैनथे । यसको सट्टा उनले यसलाई पूर्वको स्विचरल्यान्ड बनाउने सपना देखिरहेका थिए । शेख अब्दुल्लालाई राजा हरि सिंहले नै जेलमा कोचेका थिए । 

गान्धीको यात्राको दुई मुख्य लक्ष्य थियो– महाराज सिंहलाई शेख अब्दुल्लाको रिहाईका लागि मनाउनु र कस्मिरले के सोचिरहेको छ भने पत्ता लगाउनु । जब उनी उपत्यका पुगे, तब उनको भव्य स्वागत भयो । जब उनी श्रीनगर प्रवेश गर्दै थिए, तब सडकमा उभिएका हजारौँ कस्मिरीले महात्मा गान्धीको जय भन्ने नारा लगाए । 

तीन दिन कस्मिर र दुई दिन जम्मुमा बिताएर फर्केपछि गान्धीले आफ्नो यात्राको संक्षिप्त विवरण जवाहरलाल नेहरू र बल्लभभाइ पटेललाई पठाए । उनले महाराजा हरि सिंह र उनका छोरा करण सिंहसँग भएको आफ्नो छलफलका विषयमा लेखेका थिए— दुवैले स्विकारेका छन् कि ब्रिटिस सत्ताको अन्त्यपछि नै कस्मिरका जनताले सच्चा सत्ता हासिल गर्नेछन् । 

उनीहरू भारतीय संघमै सहभागी हुने इच्छा राख्छन्, तर उनीहरूको इच्छाअनुसार नै यसको चयन हुनुपर्छ । उनीहरूले कसरी यस्तो चयन गर्छन्, यसबारे यसपटकको भेटमा कुनै चर्चा भएन ।’

यतिवेला शेख अब्दुल्ला जेलमै थिए, तर उनको पार्टी नेसनल कांग्रेसका अन्य नेताले गान्धीसँग भेटेका थिए । कस्मिरमा स्वतन्त्र मतदान हुँदा अधिकांश जनताले भारतीय संघमै बस्ने पक्षमा मत खसाल्ने आशा कंग्रेसका नेताले व्यक्त गरेको गान्धीले लेखेका थिए ।

गान्धीले आफ्नो पहिलो स्वतन्त्रता दिवस दिल्लीमा होइन, कोलकातामा बिताएका थिए । उनी उत्सव मनाउने मानसिकतामा थिएनन् किनकि भारतमा हिन्दू–मुस्लिम दंगाको लहर थियो । गान्धीले उपवासको माध्यमबाट एक्लै कोलकातामा हिंसा रोक्न सफल भए र यो पनि दोहोर्‍याए कि आशासाथ दिल्लीतर्फ बढौँ ।

सेप्टेम्बर अन्त्यमा महाराजाले शेख अब्दुल्लालाई जेलबाट रिहा गरे । तीन सातापछि पाकिस्तानले कस्मिरमा सैनिक पठायो, बलपूर्वक राज्य हडप्न । 
शेख अब्दुल्ला आक्रमणकारीविरुद्ध स्थानीयलाई एकजुट गर्न अघि सरे । उनको साहसबारे सुनेपछि गान्धीले दिल्लीमा २९ अक्टोबर १९४७ मा आफ्नो प्रार्थनासभामा भने, ‘कस्मिरको सुरक्षा महाराजाबाट हुन सक्दैन । कसैले कस्मिरलाई बचाउन सक्छन् भने ती केबल मुस्लिम, कस्मिरी पण्डित, राजपूत र शिख हुन् ।’

गान्धीले निकै अनुराग र महत्वसाथ भनेका थिए, यी सबै समुदायको साथ शेख अब्दुल्लासँग प्रेमिल र मैत्रीपूर्ण छ । 
एक महिनापछि जब भारतीय सेनाले पाकिस्तानीलाई कडा जवाफ फर्काइरहेको थियो, त्यतिवेला शेख अब्दुल्ला दिल्ली आए । २८ नोभेम्बरको प्रार्थनासभामा उनी गान्धीसँगै खडा थिए ।

तब गान्धीले भने, ‘शेखले महान् काम गरेका छन्, उनले कस्मिरमा हिन्दू, शिख र मुस्लिमलाई एकजुट राखे र यस्तो माहोल बनाए, उनीहरू एकसाथ बाँच्न र मर्न रुचाउँछन् ।’
त्यसको दुई महिनापछि गान्धीको हत्या भयो । अनि सात दशकसम्म कस्मिरमा एकपछि अर्को संकट छ । अशान्ती छ ।

गान्धी जीवित भइदिएको भए कस्मिरको आधुनिक इतिहासका घटनाक्रम सायद यति धेरै त्रासद हुने थिएनन् । आज गान्धी छैनन्, तर उनका विश्वसनीय व्यक्तिले निरन्तर गान्धीकै वकालत गरिरहेका छन् ।  गान्धी शान्ति प्रतिष्ठानले कास्मिर विवाद समाधान गर्न जनताको आवाज सुन्नुपर्ने वक्तव्य जारी गर्दै आएको छ, यो गान्धीसँग मिल्छ । गान्धीको वक्तव्यलाई फेरि स्मरण गर्न जरुरी छ– कस्मिरलाई कसैले बचाउन सक्छ भने ती मुस्लिम, कस्मिरी पण्डित, राजपूत र शिख नै हुन् ।

गान्धीको शिक्षालाई अनुकरण गर्ने भारतीयले शान्तिका पक्षमा गर्दै आएको आफ्नो प्रयास रोक्न हुँदैन । बोलाई र लेखाइमा सत्य, बहस र संवादमा तर्क, व्यवहारमा अहिंसा, धार्मिक सद्भावप्रति पूर्ण प्रतिबद्धताका आदर्श र सिद्धान्त सधैं जीवित राख्नुपर्छ । ( हिन्दूस्तान दैनिकबाट)


कस्तो लाग्यो ?

यो पनि