बैशाख १६, २०८१, आइतबार
               

अशान्त अफगानिस्तानमा जागेको शान्तिको आशा

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

सन् २००१ यता अफगानिस्तानमा तत्कालीन तालिवान सरकारविरुद्ध अमेरिकाले युद्ध सुरु गरेको थियो । छोटो समयमै तालिवान सत्ताच्युत भयो, तर युद्ध अझैसम्म रोकिएको छैन । कतारको दोहामा शनिवार अफगानिस्तान युद्ध टुंग्याउनेगरी तालिवानी विद्रोही र अमेरिकाबीच वार्ता भएको छ । तालिवानविरुद्ध तैनाथ अमेरिकीसहितका विदेशी सैनिक १४ महिनाभित्र अफगानिस्तानबाट निस्कने सम्झौतापत्रमा हस्ताक्षर भएसँगै शान्ति फर्कने आशा ब्युँतिएको छ । यस सम्झौतापछि अफगानिस्तान सरकारसहितका राष्ट्रिय शक्तिसँग अब तालिवानले वार्ता गर्नेछ । वार्ता प्रक्रिया टुङ्गोमा पुग्न सके शान्ति फर्कने अपेक्षा गर्न सकिन्छ । यसरी अमेरिकाले आफैँ रोपेको विद्रोहलाई टुङ्गोमा पुर्‍याउने गरी सहजकर्ताको भूमिका खेलेको छ । अफगानिस्तानमा किन सधैँ अस्थिर बन्यो ?  सन् २००८ मा इन्टरनेशनल प्रेस फ्रिडम अवार्ड जितेका काबुलका चर्चित पत्रकार दानिस कारोखेल लेख्छन् :

जीवनभर युद्ध देखेँ र भोगेँ । राजधानी काबुलदेखि केही टाढाको मेरो गाउँ चिनरमा सडक तथा विद्युत् भण्डारण गृह थियो । यहाँ अशान्ति र अस्थिरता निम्तँदा राजधानीमै असर पर्ने भएकाले सरकारले स्थानीयलाई सधैँ खुसी राख्ने प्रयास गर्‍यो ।

सेनाका जागिरे मेरा बाबु सारबोबी ड्याम र काबुलबीचको बिजुलीको रेखदेख गर्दथे । सन् १९७० को दशक अफगानिस्तानमा अस्थिरता सुरु भयो ।

सोभियत सङ्घको समर्थन पाएका मोहम्मद दाउद खानले १९७३ मा आफ्नै भतिजा राजा महोमद्द जाहिर खानलाई अपदस्थ गरे, त्यसपछि गणतन्त्र आयो । मोहम्मद दाउद पहिलो राष्ट्रपति बने । 

अफगानिस्तानमा सुरुवाती समय प्रजातन्त्र फस्टायो, काबुलमा पत्रपत्रिकाका कार्यालय खुल्न थाले । राजनीति पार्टीहरूले आफ्नो संगठन बिस्तार गर्ने अवसर पाए । अफगानिस्तान खुला हुनुको फाइदा स्वदेशका जनताले जति उपभोग गरे, विदेशी शक्तिहरुले त्यसभन्दा धेरै  ।

सोभियत युुनियन अफगानिस्तानमा हस्तक्षेप निम्त्याउने मामिलामा सबैभन्दा अघि रह्यो । सन् १९७८ मा दाउद खानको हत्यामा पनि सोभियत संघकै भूमिका निर्णायक रह्यो, कम्युनिस्ट पिपुल्स डेमोक्रेटिक पार्टीका सदस्यहरुले सेनाकै सहयोगमा उनको हत्या गरे ।

यस पार्टीका सदस्यहरुलाई माथिल्लो पदबाट हटाएपछि सोभियत पनि उनीसँग रुस्ट थियो । कम्युनिस्टविरुद्ध फरक मत राख्नेहरुविरुद्ध यो प्रहार गरिएको थियो । दाउदको हत्यापछि ठूलै विरोध भयो, जसलाई मत्थर गर्न सोभियत युनियनले एक लाख सेना र विमान अफगानिस्तान पठायो । 

यसपछिका केही वर्ष मेरो परिवारमा सोभियत युनियनको अत्याचारका विषयमा मात्रै कुरा हुन्थ्यो । मैले आफू हुर्किदाँको समयमा यस्तै–यस्तै सुनेँ । मेरो गाउँ सोभियतविरोधी बन्यो ।

सोभियतविरोधी भावनाले मेरो परिवारलाई मुजाहिदिन (इस्लामिक संगठन) को समर्थनमा लाग्न प्रेरित गरेको थियो । हामीले मुजाहिदिनलाई खाना र लुक्नका लागि सेल्टर दियौँ ।

जब सोभियत शासकले यो बुझे, त्यसपछि उनीहरुले हाम्रो गाउँमा एम्बुस थापिदिए । मेरा बुबासहित परिवारका ६ सदस्य यही एम्बुसमा मारिए । सोभियतले मुजाहिदिन विद्रोही तह लगाउन एकपछि अर्को गरेर युद्ध विमान पठायो । 

अवस्था प्रतिकुल बन्दै गएपछि हाम्रो परिवारसहित छरछिमेकी शरणार्थी बनेर पाकिस्तानस्थित शिविरमा बस्यौँ, यो क्षेत्र अफगान मुजाहिदिनको आधार इलाका थियो । 

यहाँ खानेपानी, खाद्यान्नलगायत आधारभूत कुराको अभाव थियो, तर विद्यालय भने उपलब्ध थिए । अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गरेको यस विद्यालयमा ४ कक्षा नपुग्दै हामीलाई बन्दूक चलाउन सिकाइयो, त्यसपछि लामो समयसम्म ईस्लामका रीति रटाइयो । 

पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले सोभियत युनियनको दादागिरी रोक्न हतियारसहितका जिहादी संगठनलाई साथ दिएका थिए । यतिबेलासम्म अफगानिस्तान कट्टर मुस्लिम देश थिएन, धेरै अफगानीलाई जिहाद के भन्ने थाहा थिएन । हामी मुस्लिम हौँ, तर निकै उदार थियौँ ।

सोभियत युनियनलाई खेद्न अमेरिकासहितको अन्तर्राष्ट्रिय समुदायले प्रयोग गरेको अस्त्र हो– मुस्लिम अतिवाद । उदाहरण– मजस्ता धेरैले अन्तर्राष्ट्रिय समुदायले शरणार्थी शिविरमा सञ्चालन गरेका कक्षाकोठामै जिहाद पढे । त्यहीँ बन्दूक चलाउन सिकेँ । 

कुनै दिन लडाकुहरुले अमेरिका, युरोप, साउदी र पाकिस्तानविरुद्ध नै यी हतियार तेर्स्याउने छन् भनेर अन्तर्राष्ट्रिय समुदायले बुझ्न नसक्नु नै भूल भयो । 

पाकिस्तानमा शरणार्थी जीवन बिताएरै मैले ग्राजुएटसम्म पढेँ । त्यहाँका मदरसा घुम्ने क्रममा मैले तालिवान आन्दोलन कसरी शक्तिशाली बन्दैछ भन्‍ने अनुभव गर्न पाएको थिएँ । 

अन्तत अफगानिस्तानमा ठूलै विद्रोह भयो, हजारौँ मारिए । नतिजा, सोभियत सेना सन् १९८९ मा फर्कियो । तर युद्ध सकिए पनि घाउ आलै थियो, त्यसैले सोभियतले देश छाड्दैमा शान्ति आउने अवस्था रहेन । बरु, अस्थिरता गहिरियो । 

सन् १९९२ मा मुजाहिदिन विद्रोहीहरु राजधानी छिरेपछि तत्कालीन कम्युनिस्ट राष्ट्रपति मोहमद नाजिबुल्लाह संयुक्त राष्ट्रसंघको कार्यालयमा शरण लिन पुगे । 

सत्तामा आएको मुजाहिदिन आफैँमा विभाजित थियो । यसका हरेक लडाकुले आफैंलाई शासक दाबी गर्थ्यो । औपचारिक रुपमा अन्तर्राष्ट्रिय समर्थन पाएका बुर्हानुद्दिन रब्बानी राष्ट्रपति थिए, तर शासन निकै कम भूभागमा चल्थ्यो, धेरै ठाउँ त विपक्षीहरुको कब्जामा थियो । 

यसरी, देशमा गृहयुद्ध सुरु भयो र काबुल ध्वस्त भयो । यतिबेलासम्म म पाकिस्तानको शरणार्थी क्याम्पमै थिए  । पत्रकारिता अध्ययन भर्खरै सुरु भएको थियो । तर, इस्लामावाद र काबुलबीचको कुटनीतिक सम्बन्ध बिग्रिएपछि मैले पाकिस्तानमा पढ्न नपाउने भएँ, अनि अफगानिस्तान फर्किए ।

गृहयुद्धले थलिएको यस मुलुकमा मुजाहिदिनबाट अलग भएका इस्लामिक कट्टरपन्थीहरुले तालिवान विद्रोह चलाए । यो धार्मिक विद्रोहले शान्तिको आशा जगााएको थियो, त्यसैले चाडैँ जनताको मन जित्यो ।

बुर्हानुद्दिन पनि यस खेलमा प्रयोग भए । उनले आफ्ना विपक्षीलाई हराउन भित्री रुपमा तालिवानलाई साथ दिए, जबकी तालिवानको स्पष्ट लक्ष्य बुर्हानुद्दिनलाई अपदस्थ गरेर आफ्नो शासन चलाउनु थियो ।

२६ सेप्टेम्बर, १९९६ मा तालिवानले काबुल कब्जा गर्‍यो । यसपछि कडाखाले नयाँ कानुन लागु भयो । युद्ध अन्त्य भएन, फेरि एकपटक लाखौं जनताले देश छाड्नुपर्ने अवस्था आयो । 

यतिबेला म व्यवसाहिक पत्रकार भइसकेको थिएँ । काबुलमा स्वतन्त्र मिडिया र पत्रकारका लागि कुनै ठाउँ थिएन । हामी भूमिगत भएर काम गर्थ्यौँ । ११ सेप्टेम्बर, २००१ मा न्युर्योक र वासिङटनमा हमला भएपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘आतंकवादविरुद्धको युद्ध’ छेडे , जसको पहिलो निशाना काबुलको तालिवनी सत्ता थियो । छोटो समयमै तालिवान सत्ताच्युत भयो । 

यस समय मैले एनबिसी टेलिभिजनका लागि काबुलबाट रिर्पोटिङ गरेको थिएँ । मैले युद्धका कारण बिस्थापित, परिवार गुमाउने मजस्ता परिवारका धेरै व्यक्तिका समाचार लेखेको छु । धेरै ठाँउमा हमलापछि चिच्याएका मानिसहरुको आवाज सुनेको छु । 

तालिवानको अन्त्यसँगै अफगानिस्तानमा शान्ति आउने आशा फेरि पलाएको थियो । ठूलो संख्यामा बिस्थापितहरु घर फर्कन पनि थालेका थिए । सडक, खानेपानी, विद्युत्, स्वास्थ्य चौकीलगायतको पुनर्निर्माण हुँदै थियो । तर, पुनर्निर्माणले गति लिनुअघि नै २००५ बाट फेरि तालिवानले शिर उठायो,  अमेरिकी सेनाको साथ पाएको अफगानिस्तान सरकारको पनि केही लागेन ।

गृहयुद्ध चर्किएपछि म आफ्नो परिवारसहित चिनरबाट सन् २००६ मा काबुल आएँ । खतरनाक वर्षहरू फर्किए । यसरी मैले जीवनभर युद्धमात्रै देखे–भोगेको छु, त्यसैले शान्तिका लागि बाँचुन्जेल लड्ने मेरो प्रतिज्ञा छ ।

मेरो बुझाइमा अफगानिस्तानलाई सुन्दर र शान्त बनाउने निर्णायक सामर्थ्य स्थानीय जनतासँग नै छ । त्यसैले स्थायी शान्तिका लागि  सबैपक्ष एकजुट हुनुपर्छ । विभाजन र विद्रोहले अफगानिस्तानमा शान्ति ल्याउन सक्दैन । 


कस्तो लाग्यो ?

यो पनि