कास्मिरलाई भारतबाट अलग पार्ने अभियानमा सक्रिय हुर्रियत कंफ्रेन्सका नेता सइद अलि शाह गिलानी अवस्थ्य भएपछि भारत शासित जम्मु–कास्मिरको वातावरण फेरी एक पटक अशान्त भएको छ । गिलानी बिरामी भएको खबरसँगै भारत सरकारले कास्मिरमा ‘हाइ अलर्ट’ जारी गर्यो भने एक दिन मोबाइल तथा इन्टरनेट सेवासमेत अवरुद्ध पार्यो ।
कास्मिरमा हुने हरेक हलचलले भारत र पाकिस्तानमा मात्र नभएर, सारा दक्षिण एसियामै तरङ्ग ल्याउने गरेको छ । केही समयअघि कास्मिर समस्यामा नेपालले मध्यस्थता गर्ने विषयलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन र स्वागत गरेपछि नेपालसमेत प्रत्यक्षरुपमा कास्मिर मुद्दामा जोडिन पुगेको छ ।
जवाहरलाल नेहरु र सरदार बल्लभ भाइ पटेल साना राज्यहरूलाई कसरी भारतमा विलय गराउने भनेर माथापच्चीमा व्यस्त थिए । भारत स्वतन्त्र भएसँगै स्वतः स्वतन्त्र हुने मुलुकहरूलाई के–कस्तो चाल र लोभमा भारतमा विलय गराउन सकिन्छ भनेर घोत्लिइरहेका थिए । जति राज्य उति नै फरक चाल चल्ने योजना उनीहरू बुनिरहेका थिए ।
भारत स्वतन्त्र हुनुभन्दा अगाडि नै मलजल पाइसकेको यो मुद्दा त्यति सजिलोसँग टु्ंगिने छाँट भने कतै देखिँदैन । भारत–पाकिस्तानको विभाजन पूर्व जब महात्मा गान्धीले कास्मिरको भ्रमण गरे त्यस बेला पनि यो मुद्दा तातो समाचार बनेको थियो ।
३० जनवरी १९४८ मा महात्मा गान्धीको हत्या भयो । त्यसको एक वर्षअघि मात्र भारतले ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता पाएको थियो । तर, स्वतन्त्रताको केहीअघि मात्र गान्धीले गरेको कास्मिर यात्रालाई निकै महत्त्व दिइएको थियो । उनको त्यो भ्रमणको एक मात्र उद्देश्य बिना रक्तपात कास्मिरलाई भारत अधीनस्थ ल्याउनु थियो ।
भारत र पाकिस्तानको स्वतन्त्रता मुखमै आइसकेको थियो । एउटा हिन्दुस्तान अब भारत र पाकिस्तानमा बाँडिने तय पनि भइसकेको थियो । त्यही समयमा जवाहरलाल नेहरु र सरदार बल्लभ भाइ पटेल साना राज्यहरूलाई कसरी भारतमा विलय गराउने भनेर माथापच्चीमा व्यस्त थिए । भारत स्वतन्त्र भएसँगै स्वतः स्वतन्त्र हुने मुलुकहरूलाई के–कस्तो चाल र लोभमा भारतमा विलय गराउन सकिन्छ भनेर घोत्लिइरहेका थिए । जति राज्य उति नै फरक चाल चल्ने योजना उनीहरू बुनिरहेका थिए ।
उता अन्तर्राष्ट्रिय राजनीति भने फरकढंगले अघि बढी रहेको थियो । साम्राज्यवादी शक्तिको धनी बेलायतबाट त्यो बागडोर आफ्नो हातमा लिने सुरसार कस्न व्यस्त थियो, अमेरिका । त्यसमा अमेरिकाले केही सफलता पनि पाइ नै रहेको थियो । ती दुई शक्तिशाली मुलुक दक्षिण एसियाको राजनीतिमा केही मात्रामा भए पनि आफ्नो प्रभाव कायम नै रहोस् भन्ने चाहन्थे । त्यसका लागि टुक्रिएर जान लागेको पाकिस्तानलाई हातमा लिन सकिने उनीहरूको विश्वास थियो । साथै कास्मिरको माध्यमबाट भारत–पाकिस्तान बिच शत्रुता रोप्न सकिने र आफ्नो चलखेल बढाउन सकिने विश्वास पनि उनीहरूमा थियो नै । जसमा अहिलेसम्म उनीहरू सफल नै देखिएका छन् । त्यही विवादलाई माध्यम बनाएर यो क्षेत्रमा आँखा गडाइरहने उनीहरूको योजना पनि सफल नै बनेको छ । त्यसताका अमेरिका र बेलायतको साम्राज्यवादको मोहको दस्ताबेज अहिले बिस्तारै सार्वजनिक पनि हुन थालेका छन् ।
त्यही बेला कास्मिरमा युवा नेता शेख मोहम्मद अब्दुल्लाह राजतन्त्रको विरोधमा लडिरहेका थिए तथा नेहरुको नजिक भएका कारण उनलाई भारतीय काँग्रेसले साथ पनि दिइरहेको थियो । कास्मिर स्वतन्त्रताको माग चर्कंन थालेपछि राजा हरि सिंहले उनलाई पक्राउ गर्दा त्यसको विरोध गर्न नेहरु कास्मिर नै पुगेका थिए । त्यो घटनापछि नेहरुसँग क्रुध बनेका राजा हरि सिंहले उनलाई समेत गेस्टहाउसमै नजरबन्द गरिदिएका थिए । त्यसपछि नेहरुको दिमागमा कास्मिर भारतको हिस्सा बनाउने रहर र चाल खेल्न थाल्यो ।
भारत–पाक विभाजनअघि कास्मिरको विषय टुङ्गाउन ब्रिटिस अधिकारी माउन्टवेटनको प्रस्तावमा महात्मा गान्धीलाई त्यहाँ जान अनुरोध गरियो । त्यसअघि भने सरदार पटेल कास्मिर पाकिस्तानलाई दिन सहमत भइसकेका थिए । उता बुढ्यौलीका कारण गान्धीको कास्मिर जाने योजना सफल हुन सकिरहेको थिएन । जब जिन्ना एक पटक कास्मिर पुगे उनलाई गोलभेँडा र अण्डाले स्वागत गरिएको थियो किनकि जिन्नालाई कास्मिरीहरू जमिनदारको हिमायती मान्थे । यस्तो अवस्थामा ७७ वर्षका गान्धीलाई जसरी भए पनि कास्मिर पठाउनुपर्ने अवस्था आयो । मुलुकका लागि जसरी भए पनि उनी कास्मिर जान तयार भए । यसरी एउटा साम्राज्यवादबाट मुक्त हुन लागेको भारतका नेताहरूमै साम्राज्यवादी सोच पलाउन थालिसकेको थियो ।
आफ्ना सीमासँग टाँसिएका साना मुलुकहरू भोलिका दिनका भारतका लागि पिडाको विषय बन्न सक्ने अनुमान नेहरु र सरदार पटेलमा थियो । आफ्ना तर्कमा उनीहरूले महात्मा गान्धीलाई समेत सहमत गराइसकेका थिए । राजा हरि सिंहलाई कास्मिर भारतमा विलय गराउने प्रस्ताव पत्रमार्फत पठाउन पनि कतिपयले गान्धीलाई सल्लाह दिए तर, उनले त्यसलाई ठाडै अस्वीकार गरेका थिए । तर, भारत स्वतन्त्रताको मात्र १४ दिन अगाडि गान्धी रावलपिंडि हुँदै जीवनमा पहिलो र अन्तिम पटक कास्मिर पुगे । २० जुलाई १९४७ को प्रार्थना सभामा नै उनले आफू कास्मिर जान लागेको घोषणा भने गरिसकेका थिए ।
त्यस बेला उनले भनेका थिए, ‘म कास्मिर भारत मै रहनु पर्छ भनेर सम्झाउन जान लागेको होइन । यो निर्णय म वा राजा हरि सिंहले होइन कास्मिरी जनताले गर्नुपर्छ । कास्मिरमा राजा पनि छन्, रंक पनि छन् । तर, राजा भोलि मर्न सक्छन् तर जनता सधैँ बाँचिरहन्छन् । त्यसैले उनीहरूले नै आफ्नो फैसला गर्ने छन् ।’
त्यही बेला गान्धीले भारतीय काँग्रेस सधैँ राजतन्त्रको विरुद्धमा रहेको खुलासासमेत गरेका थिए । ‘चाहे ब्रिटेनको होस् कि कास्मिरको । शेख अब्दुल्लाह लोकतन्त्र र गणतन्त्रको कुरा गर्छन्, हामी सधैँ उनको लडाइँमा साथ छौँ । उनलाई कारागार मुक्त गर्नुपर्छ र अब कसरी अगाडि बढ्ने भनेर यहाँका जनताले निर्णय गर्नुपर्छ,’ गान्धीले भनेका थिए ।
१ अगस्ट १९४७ मा महात्मा गान्धी कास्मिर पुगे । कास्मिरी जनताले उनको मनैदेखि स्वागत पनि गरे । झेलम नदीको पुलमा खुट्टा राख्ने ठाउँ पनि नभएपछि उनलाई डुङ्गामा राखेर नदीको बाटो श्रीनगर पुर्याइएको थियो । त्यो बेला पनि शेख अब्दुल्लाह कारागार मै थिए । राजा हरि सिंहले उनलाई निजी दरबारमा स्वागत गरेका थिए भने नागरिक स्वागत अब्दुल्लाहकी पत्नी बेगम अकबराजहाँ अब्दुल्लाहले गरेकी थिइन् ।
नागरिक स्वागतमा महात्मा गान्धीले कास्मिरको सर्वेसर्वा त्यहाँको जनता भएका कारण उनीहरूलाई पाकिस्तान वन भारतमा गाभिन कसैले रोक्न नसक्ने दाबी गरेका थिए । साथै उनले घुमाउरो पारामा जनताको राय बुझ्ने समय र उपाय नभएको अवस्थामा बन्दुकको सहारा पनि लिन नसकिने चेतावनी दिएका थिए । साथै उनले जनताले डर–त्रास बिना राय राख्नका लागि भयरहित कास्मिरको निर्माण गर्नुपर्ने बताएका थिए । ‘कास्मिरी जनता चाहे मुसलमान नै किन नहोउन् तर, उनीहरू भारतमा रहन चाहन्छन् भने संसारको कुनै शक्तिले उनीहरूलाई रोक्न सक्दैन । यस्तो अवस्थामा पाकिस्तानले दबाब दिने कोसिस गर्छ भने यहाँका जनताले नै उसलाई रोक्नु पर्छ,’ यसरी गान्धीले कास्मिरी जनतालाई आफ्नो पक्षमा पार्ने कोसिस गरेका थिए ।
त्यही बेला गान्धीले भारतीय काँग्रेस सधैँ राजतन्त्रको विरुद्धमा रहेको खुलासासमेत गरेका थिए । ‘चाहे ब्रिटेनको होस् कि कास्मिरको । शेख अब्दुल्लाह लोकतन्त्र र गणतन्त्रको कुरा गर्छन्, हामी सधैँ उनको लडाइँमा साथ छौँ । उनलाई कारागार मुक्त गर्नुपर्छ र अब कसरी अगाडि बढ्ने भनेर यहाँका जनताले निर्णय गर्नुपर्छ,’ गान्धीले भनेका थिए । साथै उनले कास्मिरमा मुसलमान मात्र नभएर हिन्दु, डोगरा र सिखसमेतको बसोबास रहेको हुनाले कास्मिर भारत अधीनस्थ रहनु उचित हुने बताएका थिए । त्यही नै कास्मिर मामिलामा भारतको पहिलो घोषित नीतिसमेत बन्यो । हुन त त्यस बेलासम्म स्वतन्त्र भारतको सरकार बनिसकेको थिएन । तर महात्मा गान्धीको बोली भारतको आधिकारिक विचार मानिन्थ्यो ।
गान्धीको त्यही भ्रमणले शेख अब्दुल्लाह कारागार मुक्त मात्र भएनन्, भारतको साथमा रहने उनको घोषणाले कास्मिरलाई पाकिस्तानसँग अलग्याउने भारतीय नेताहरूको योजनासमेत सफल बन्यो । जसमा राजा हरि सिंहले पनि चुपचाप साथ दिए । नेहरु, पटेल र शेख अब्दुल्लाहले महात्मा गान्धीमार्फत चालेको चाल सफल भयो । जसमा कास्मिरले भारतको छातामुनि रहेर आफ्नै स्वतन्त्र झन्डा फहराइ पाउने राज्यको मान्यता पाउने सहमति गरियो । जुन सहमतिलाई वर्तमान भारतले अस्वीकार गरिसक्यो ।
– एजेन्सीको सहयोगमा