
कोरोना भाइरसका कारण बन्द आराध्यदेव पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि शुक्रबारदेखि खुल्ने भएको छ । कोरोनाको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि पशुपति मन्दिर भक्तजनका लागि बन्द थियो । त्यहाँ नियमित पूजा मात्र भइरहेको थियो ।
बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।
कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।