नेपाल-भारतबीच धार्मिक पर्यटनको महत्त्वपूर्ण सम्भावना रहेको यथार्थबीच काठमाडौंस्थित भारतीय दूतावासको अग्रसरतामा पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली आयोजना गरिएको छ ।
पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली” को आज संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।
र्यालीमा नेपाल र भारतका गरी करिब ५० मोटरसाइकल प्रेमीहरूको सहभागिता थियो । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्याली गरिएको भारतीय दूतावासले जनाएको छ । दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवामाझ जनचेतना फैलाउने उद्देश्य पनि र्याली गरिएको दूतावासले उल्लेख गरेको छ ।
कार्यक्रममा मन्त्री आलेले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा चर्चा गर्दै मोटरसाइकल र्यालीका सहभागीहरूलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए ।
भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए ।
र्यालीका सहभागीहरूले कात्तिक २७ गते बनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाइ एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।
यात्राका क्रममा र्याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान् बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरूको एक प्रख्यात धार्मिकस्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ । यात्राका झलकहरू आफ्ना सामाजिक सञ्जालमा हेर्न सकिने भारतीय दूतावासले जनाएको छ ।
स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा र्याली आयोजना गरेको हो ।