नवरात्रको पाँचौं दिन आइतबार भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।
कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ । स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन् । दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।
तारकासुरले कठोर तपस्या गरि ब्रम्हाजीसँग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । बरदान पाएपछि तारकाशुरको कारणले तिनै लोक त्रशित थियो । तारकाशुरले स्वर्गबाट सबै देवताहरुलाई भगाएर राज गर्न थाल्यो । उता सतिदेवीको मृत्यु पश्चात भगवान शिवजी ध्यान मग्न रहन थाल्नुभयो । शतिदेवीले पुनह पार्वतिको रुपमा हिमालय पर्वतमा जन्म लिएपछि पनि शिवजीले योग तथा शाधना त्याग गर्नुभएन । पार्वतीले ब्रह्माचारिणीको रुप धारण गरि शिवजी स्वामी पाउँभनि कठोर तपस्या गर्नुभयो । माता पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरि पार्वतीसँग बिवाह गर्नुभयो । श्रीमहादेव र पार्वको सन्तान स्वरुप कुमार कार्तिकेयको जन्म भयो र पछि कार्तिकेयले तारकाशुरलाई बध गरेको शाश्त्रमा उल्लेख गरिएकोछ ।
यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ । पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ।