बैशाख १३, २०८१, बिहीबार
               

बाबुरामको ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा !

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पछिल्लो ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा दिएका छन् ।

पछिल्लो समयमा हिन्दु संस्कारविरुद्ध भट्टराई बोल्न थालेपछि चौथाइवालेले त्यसप्रति टिप्पणी गर्दै आएका छन् ।

भट्टराईले आज धर्मलाई समातेर कसैले राजनीति गर्छ भने त्यसको विरोध हुनुपर्ने जनाएका छन् । उनले धर्म परिवर्तनशील हुने जनाएका छन् । 

त्यसमाथि टिप्पणी गर्दै भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले 'जसले भर्खरै हिन्दु धर्मविरुद्ध प्रहार गरेको थियो, उनी धार्मिक प्रवचन दिन थालेको' बताएका छन् ।

यसअघि के भएको थियो ?

भट्टराईको तीन दिनअघिको ट्विट विवादित बनेको थियो । भट्टराईले भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतबाट गंगामा दूध चढाएर गरिएको अनुष्ठानको फोटो राख्दै 'विश्वासले दूध फ्याँकेर पिसाब पिलाउने' टिप्पणी गरेका थिए ।

लगत्तै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले त्यो विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रूपमा लिँदै आपत्ति जनाएका थिए ।

विवादमा परेको बाबुरामको ट्विट

भट्टराई लामो समयसम्म वामपन्थी राजनीतिमा होमिएको व्यक्ति हुन् । उनी नेपालको पूर्वप्रधानमन्त्री भए पनि त्यो पदको गरिमा राख्न नसकेको टिप्पणी यसबीचमा भइरहेको छ ।

भारतको एउटा प्रदेशको मुख्यमन्त्रीको धार्मिक संस्कारबारे टिप्पणी गर्न भट्टराईका लागि शोभनीय नभएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

भट्टराई पत्नी हिसिला पनि केही समयअघि पशुपतिनाथ र बुद्ध भएको देशमा पनि कोरोनाले छोडेन भन्दै स्टाटस लेखेर विवादमा परेकी थिइन् । तीव्र आलोचनापछि हिसिलाले त्यो स्टाटस डिलिट गरेकी थिइन् ।

भट्टराईको अभिव्यक्तिको विरोधमा सत्तासीन नेपाली कांग्रेसका नेताहरूले समेत मुख खोलेका थिए ।

नेता रामचन्द्र पौडेलले 'बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन' भन्ने टिप्पणी पनि गरेका थिए ।

राप्रपा अध्यक्ष कमल थापाले त 'योगीले खोलामा दूध बगाउँदा तपाईँको टाउको दुख्छ तर तपाईँ आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??' भनेर भट्टराईविरुद्ध कडा प्रतिक्रिया जनाएका थिए ।

चर्चित नायिका करिष्मा मानन्धरले पनि यसप्रति आपत्ति जनाएकी थिइन् । उनले 'प्रकृतिले दिएको बस्तु एक दिन उनैमा चढाउनुमा किन यत्रो रोइलो ?' भनेर विरोध गरेकी थिइन् । 

लोकप्रिय टेलिभिजनकर्मी रमा सिंहले अरूको धर्ममाथि जथाभाबी गर्ने अधिकार नभएको भन्दै भट्टराईलाई आफ्नो नाममा रहेको “राम” शब्द पनि हटाउन चुनौती दिएकी थिइन् ।

विश्व हिन्दु परिषद् नेपालले भट्टराईविरुद्ध देशव्यापी प्रदर्शन गरेको थियो । जनकपुर, वीरगन्ज र सप्तरीलगायतका जिल्लामा भट्टराईको पुत्ला जलाइएको थियो । त्यसैगरी पर्सामा एक दर्जन युवाले भट्टराई रहेको जनता समाजवादी पार्टी नै परित्याग गरेका थिए ।

यो पनि