बैशाख १४, २०८१, शुक्रबार
               

हिन्दु राष्ट्रका लागि समर्पित हुन हिन्दु स्वयंसेवक संघको आग्रह

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

पर्सा । हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नव वर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धूमधामका साथ मनाएको छ ।

शनिबार वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ सञ्चालन (मार्चपास) निकालेर हिन्दु नव वर्ष तथा संघका संस्थापक डा. हेडगेवारको जन्मजयन्ती मनाइएको हो ।

सम्मेलनमा संघका राष्ट्रिय संघचालक हेम शर्माले विश्वमा हिन्दु संस्कृति जीवित रहेन भने यसको परिमाण नराम्रो हुने संकेत गरे । उनले हिन्दु संस्कृतिले नै सबैको सम्मान गर्ने उल्लेख गर्दै नेपाली जनताको जनजनमा हिन्दु राष्ट्र र हिन्दु संस्कृति भएको बताए ।

हिन्दु संस्कृति, संस्कार जोगाउन र नेपाललाई हिन्दु राष्ट्र यथाशीघ्र कायम गराउनको लागि सबैलाई समर्पित हुन उनले आग्रह गरे ।

उनले संघले १० प्रतिशत हिन्दुलाई आफ्नो संस्कृति र सभ्यताबारे जानकारी गराउन सकेको उल्लेख गर्दै आगामी दिनमा ९० प्रतिशत हिन्दुलाई यसबारे जानकारी गराउने बताए । त्यसपछि नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना भएरै छोड्ने उनको दाबी थियो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले हिन्दु संस्कृति र राष्ट्र जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

हिन्दु संस्कृति र संस्कार धेरै पुरानो रहेको उल्लेख गर्दै उनले हिन्दु संस्कृति जोगाउन ठूलो प्रयास गर्नुपर्ने जनाए।

प्रमुख सरावगीले संघले सिकाउने अनुशासनबाट हिन्दु संस्कृति जोगाउँदै सबल समाज र राष्ट्र निर्माण गर्न सकिने धारणा राखेका थिए ।

संघका विभाग संघचालक अशोक वैद्यले शास्त्र हराए संस्कृति हराउने बताए । संस्कृति हराए संस्कार हराउने तर्क गर्दै उनले संस्कार हराए राष्ट्र नै हराउने उल्लेख गरे ।

उनको तर्क थियो- 'प्राचीनकालमा जहाँ जहाँ संस्कृति हराएको छ, त्यहाँको सभ्यता हरायो । रोमको संस्कृति धेरै पुरानो थियो तर त्यहाँको संस्कृति र सभ्यता हरायो ।'

उनले हिन्दु धर्म संस्कृतिलाई जीवित राख्न तथा हिन्दुलाई जागरूक बनाउन हिन्दु नव वर्ष मनाएको जनाए ।

मञ्चको कार्यक्रमपश्चात् संघका स्वयंसेवकले वीरगन्जमा पथसंचालन (मार्चपास) समेत गरेको थियो । पूर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ श्रीपुर स्कुलको प्राङ्गणबाट स्वयंसेवकद्वारा निकालिएको पथसंचालन मुर्ली चोक, घण्टाघर चोक, सिडिओ कार्यालय, रानीघाट, श्रीपुर हुँदै पुनः स्कुलमा पुगेर समापन भएको थियो ।

मार्चपासलाई सहभागी स्वयंसेवकहरूलाई चोकचोकमा उत्साहित स्थानीयले पुष्पबर्षा गरेर स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला संघचालक ललन द्विवेद्वीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, संघका जनकपुर सम्भाहक कार्यवाहक रञ्जित साह, प्रदेश सांसद प्रह्लाद गिरी, संघका जिल्ला कार्यवाहक कृष्ण चौरसिया, विश्व हिन्दु परिषद्का महासचिव जितेन्द्र सिंहलगायतको सहभागिता रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि