बैशाख २२, २०८१, शनिबार
               

कति बजे छ भाइटीकाको उत्तम साइत ? राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको बताएको छ । 

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो । 

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।  

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । 

यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।  शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । 

शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर  १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । 

नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ । 

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक  मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । 

यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुुुसी बनाउने वैदिक परम्परा छ  जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।  


कस्तो लाग्यो ?

यो पनि