बैशाख २४, २०८१, सोमबार
               

पार्वतीकुण्डको संरक्षण गरिँदै

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

रसुवा । बोझोका कारण  दिनानुदिन  छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान सुरू गरिएको गतलाङका समाजसेवी पेम्बा तामाङले जानकारी दिए । 
  
उत्तरी रसुवाको तामाङ सम्पदामार्गमा अवस्थित पार्वतीकुण्डको सफाइ अभियानअन्तर्गत कुण्डका डिलका बोझो हटाई  स्नानका लागि सहज बनाउन सकिए पनि बीच भागको पूरै बोझो क्रमिक रूपमा हटाइने छ । धार्मिक एवं पौराणिक तीर्थको महत्व बढाउन जनसहभागिता समेत जुटिरहेको बताइएको छ । समुद्री सतहदेखि करीब २ हजार ४००  मिटर उचाइमा गतलाङ गाउँको शिरमा अवस्थित उक्त पवित्र तीर्थमा जनैपूर्णिमा, गङ्गादशहरालगायत पर्वमा ठूलो मेला लाग्ने  गरेको छ । 
           
 पार्वतीकुण्डमा स्नान गरी पूजाआजा गर्नाले शरीरको रोगव्याधि हट्ने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहि आएकाले गोसाइँकुण्ड पुगेका धार्मिक यात्रु  पार्वतीकुण्ड पुग्नैपर्ने मान्यता रहेको पुरोहित टङ्प्रसाद ढकालले बताए।
          
काठमाडौंंदेखि त्रिशूली, बेत्रावती, धुञ्चे,स्याफ्रुबेंसी, गोल्जुङ हुँदै मोटरबाट सहज रूपमा पुगी पार्वतीकुण्डमा स्नान गर्न सकिने भएकाले सहज रूपको तीर्थ पुग्न स्थानीय बासिन्दाका तर्फबाट सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको समाजसेवी तामाङले बताए ।
  
धार्मिक मान्यतानुरूप उत्तराखण्डमा अवस्थित एक सय आठ कुण्डमध्ये अहिलेसम्मको अनुभवमा गोसाइँकुण्ड एवं पार्वतीकुण्ड मात्र स्नान गर्ने गरेको देखिएकाले रसुवामा रहेका सबै कुण्डका प्रचारप्रसार गर्नसके जिल्लाको गरिमा थप उचाइमा पुग्ने स्थानीयबासीले बताएका छन् । रसुवामा अवस्थित सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड जस्ता तीर्थ थोरबहुत प्रचारमा आए पनि यी कुण्डमा जाने तीर्थयात्रु भने बिरलै पाइएको  छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि