बैशाख २४, २०८१, सोमबार
               

पशुपतिमा ‘महारुद्रयाग’ चैतमा हुने

रासस
फागुन २७, २०७६

ADVERTISEMENT

वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ हुने भएको छ ।

चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ । 

प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ । गौशाला, अजा (बाख्रा) शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप९हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।

महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं  विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको  आयोजक समितिका उपाध्यक्षसमेत रहेका तिमिल्सिनाले जानकारी दिए । 

यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र  ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि