बैशाख २८, २०८१, शुक्रबार
               

ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीको बिदाई

रासस
फागुन १८, २०७६

ADVERTISEMENT

महाेत्तरी ।  इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् ।  यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका  इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् ।

इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुव पछि राजाले सो स्थानमा तपस्या गरेका किंवदन्ति   विश्वास रहँदै आएको छ ।  सो कुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । 

“यहीँ धमौरा कुण्ड छ, यहीँ नजिक इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार समाधीस्थल छ”, धमौराका सामाजिक अभियान्ता मन्सुल कवारी  भन्छन्, “हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने उनले बताए ।  

शनिबार यात्री ध्रुवकुण्ड आइपुग्दा  इस्लाम धर्मावलम्बीले फूलमाला लगाएर यात्रीको स्वागत गरेका थिए । 

“मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका  इस्लाम धमावलम्बी सामाजिक अगुवा अमानुल्ला शेषले  भन्ने , “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ्नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, आवास व्यवस्था र उपचार व्यवस्था हाम्रा लागि खास महत्वका कुरा हुन् ।” 

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट शुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् ।

आज मध्याह्न कञ्चनवनमा यात्रीले एकआपसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता रहँदै आएको छ । कञ्चनवनपछि परिक्रमा धनुषा जिल्लामा प्रवेश गर्नेछ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि