
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागिता गराउँदै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ ।
हिन्दु स्वयंसेवक सङ्घ नेपालले आयोजना गरेको उक्त परीक्षामा विद्यार्थीहरूले पचास वटा बहुवैकल्पिक उत्तर भएका प्रश्नको सही उत्तर छनोट गर्नुपर्ने थियो । प्रश्न सङ्घले नै तयार पारेको प्रश्नोत्तर पुस्तकबाट सोधिएको थियो ।
सहभागिताका लागि एक सय रुपैयाँमा विद्यार्थीले आफ्नो नाम दर्ता गराएका थिए । दर्ता भएका विद्यार्थीलाई प्रश्नोत्तर सहितको पुस्तक अध्ययनका लागि उपलब्ध गराइएको थियो । पुस्तकमा भएको ५३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएका थिए ।
प्रतियोगितात्मक परीक्षामा सहभागीमध्येबाट १३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएका थिए । तीमध्येबाट गोलाप्रथाद्वारा मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । त्यस्तै शतप्रतिशत मिलाउन सफल ५० अन्य विद्यार्थीलाई प्रोत्साहन पुरस्कारका लागि छनोट गरिएको थियो ।
प्रथम हुनेले ५१ हजार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार र पचास जनालाई प्रोत्साहन स्वरूप जनही एक–एक हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्यबारे संयोजक महाश्रम शर्माले आजको सन्दर्भमा आजका नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिनुपर्ने औचित्यलाई यस कार्यक्रमले सम्बोधन गर्ने बताए ।
विश्वका अनेक देशमा आफ्नो धर्म संस्कृतिबारे शिक्षा दिइन्छ तर नेपालमा यसतर्फ त्यति चासो नदिइएको अवस्थामा सङ्घले अभियानकै रूपमा संस्कृति ज्ञान परीक्षालाई माध्यम बनाएर आजका विद्यार्थीलाई सांस्कृतिक चिनारी दिने जमर्को गरेको उनले बताए ।
सर्वोच्च न्यायालयका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाले अबको दिनमा नेपालले श्रमिक मात्र निर्यात गर्ने होइन, बरु नेपालका बौद्धिक जनशक्तिले विश्वलाई नेतृत्व प्रदान गर्न सक्ने हुनुपर्ने बताए । कार्यक्रम मार्फत नयाँ पुस्तामा संस्कार र संस्कृतिको ज्ञान हस्तान्तरण गर्ने, नेपालका पावन तीर्थहरू, नदी–कुण्ड, हिमाल आदिबारे जानकारी दिने, नैतिक एवं मानवीय–मूल्यपरक शिक्षातिर अभिप्रेरित गर्ने जस्ता कुरा रहेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. जयराज आचार्यले नेपाललाई पुरानो जगमा नयाँपन दिने कार्य अब नयाँ पुस्ताको काँधमा आएको बताए । कार्यक्रममा सङ्घका राष्ट्रिय सह–संघचालक कल्याणकुमार तिम्सिनाले हिन्दु स्वयंसेवक सङ्घ नेपालको गतिविधिहरूबारे जानकारी दिएका थिए । संस्कार, सेवा र सङ्गठनलाई आफ्नो कार्यको माध्यम बनाएर समाजमा सकारात्मक जागरणका लागि सङ्घले कार्य गरिरहेको उनको भनाइ थियो । यसैक्रममा आफ्नो धर्म–संस्कृति, रीति, परम्परा, वैज्ञानिक पुर्खा, ज्ञानी महापुरुष, आदर्श नारी आदिबारे बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गरिएको उनले जनाए ।
कार्यक्रममा सहभागी विद्यालयका तर्फबाट विविधतामा एकता दर्साउने संस्कृति र नृत्यहरूको प्रस्तुत गरिएको थियो ।