बैशाख २८, २०८१, शुक्रबार
               

धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ ः मुख्यमन्त्री पौडेल

रासस
फागुन ०९, २०७६

ADVERTISEMENT

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरूको संरक्षण गरिनुपर्ने बताएक छन् । 

महाशिवरात्रिको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताए । “देवाधिदेव महादेवसमेत भनिने हिन्दूहरूका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।
 
“विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन । भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रूपमा हामी लिन सक्छौँ ।


 भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरूले अधिक मान्नु र तराईमा जन्मेका भगवान् बुद्धलाई हिमाली क्षेत्रका बासिन्दाले बढी मान्नु आफैँमा  जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ”, सन्देशमा भनिएको छ । 

पौडेलले सन्देशमार्फत समाजलाई सबै दृष्टिकोणबाट एकताको सूत्रमा बाँध्ने हाम्रा धर्म, संस्कृति, रीतिरिवाजहरूको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व बन्न पुगेको बताएका छन् । यद्यपि, चाडबाड मान्ने नाममा हुने विकृति र विसङ्गतिहरूलाई भने हामीले अन्त्य गर्नु जरुरी रहेको सन्देशमा उल्लेख छ ।
 
‘गाँजा, भाङ, धतुरो, मदिरा तथा सूर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्ता कुराहरूले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ । त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरूको सेवन नगर्ने सङ्कल्प पनि गरौँ, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।
–––

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि