बैशाख २४, २०८१, सोमबार
               

गोर्खा वारियरको शुटिङ नहुँदै गोर्खा वारियर–२ को छायांकन सुरु

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । गोर्खालीको वीरगाथामा आधारित कथामा निर्माणाधीन फिल्म गोर्खा वारियर–२ को छायांकन बेलायतबाट शुरू हुने भएको छ । केही भाग सुटिङ गरिसकिएको फिल्मको बाँकी छायांकन कार्य दशैंपछि बेलायतबाट शुरू गरिने यस फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी गराए ।

कोभिड–१९ को जोखिम तथा विभिन्न प्राविधिक कारणले यसअघि फिल्मको छायांकन रोकिएको थियो । फिल्मको बाँकी छायांकन कार्य आगामी–१९ अक्टुबरबाट गरिने निर्देशक चाम्सले बताए। ‘अब बेलायत, भारतलगायतका देशमा बाँकी छायांकन सम्पन्न गर्दै छु । त्यसका लागि आवश्यक सबै कुरा मिलाएर नेपाल फर्किएको हुँ’ गोर्खा वरियर-२ को निर्माणकै सिलसिलामा बेलायत पुगी नेपाल फर्किएका निर्देशक चाम्सले भने ‘सुटिङका लागि लन्डन तथा भारतबाट ल्याउनुपर्ने केही प्राविधिक सामग्री आगामी दुई हप्ताभित्रै नेपाल आइपुग्नेछ । त्यसपछि सुटिङको तयारीमा जुट्नेछौँ ।’

चाम्सले विभिन्न सिरिजमा बन्ने यो फिल्मकोे पहिलो भाग सुटिङ गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर–२ को छायांकन शुरू गरेका हुन् । अब सिनेमा हलमा पनि गोर्खा वारियर-२ रिलिज भएपछि मात्र गोर्खा वारियर निर्माण गर्ने उनले बताएका छन् । केही महिनाअघि राजधानीमा एक समारोहबीच साहसी गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको थियो। त्यसलगत्तै सोलुखुम्बुसहित नेपालका केही स्थानमा फिल्मको छायांकन गरिएको थियो।

लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माणाधीन फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारले अभिनय गर्दै छन्। रितेश चाम्सले नवनायकका रूपमा यही फिल्मबाट डेब्यु गर्दै छन्।

सुरेश राई र पूर्ण लिम्बू सह-निर्माता रहने फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ। गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई फिल्ममा उतारिने दाबी मिलनको छ। उनका अनुसार गोर्खा सैनिकको वीरगाथालाई फिल्मका माध्यमले विश्वसामु फैलाउन विभिन्न सिक्वेलमा यो फिल्म निर्माण गर्न लागिएको हो। फिल्म नेपालबाहेक विश्वका थुप्रै देशमा रिलिज गरिनेछ। फिल्म फरक-फरक देशमा फरक-फरक भाषामा रिलिज गर्ने तयारी चाम्सले गरेका छन्। गोर्खा वारियरबाट नेपाली फिल्मलाई विश्व फिल्म बजारमा विस्तार गर्न मद्दत पुग्ने आशा उनको छ।

फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिश कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि