बैशाख २२, २०८१, शनिबार
               

कला लेखक थुम्केलीले पुस्तकमा ल्याए ‘कलाकार जीवनवृत्त’

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनी परक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के–के कर्माचार्यले आइतबार एक समारोहका बीच कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कुलपति कर्माचार्यले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए । उनले कला लेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई बर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको बताए ।

‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा संग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ’ कुलपति कर्माचार्यले ‘नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउनका लागि पनि कलालेखन, समीक्षा तथा कला पत्रकारिताको महत्व विशिष्ट रहेको छ ।’

विमोचन कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कला क्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे ।  कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरण सँगै योगदानको उचित मूल्याँकन गर्नुपर्ने विचार व्यक्त गरे । 

पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरे । विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो ।

१७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ । कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ । पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि