बैशाख २१, २०८१, शुक्रबार
               

भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरलाई

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि  किरण गजमेरले जितेका छन् ।

द भ्वाइस अफ नेपालको सिजन थ्रीको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरण गजमेरले उपाधि जितेका हुन् ।

कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका थिए । 

ग्राण्ड फिनालेमा टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो ।

तारा द भ्वाइस अफ नेपालमा टप ४ मा पर्न सफल पहिलो युवती समेत हुन् ।

यसअघि महागुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका थिए । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारेका थिए ।

टिम प्रमोदबाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका थिए ।

सिजन ३ मा दर्शकबाट सर्वाधिक रुचाइएका किरण र रवि एउटै टिममा पर्नु दुर्भाग्य नै सावित भयो । यी दुईका लागि दर्शकको समर्थन लगभग बराबरीजस्तै थियो । तर किरणले बाजी मारे ।

टिम राजुबाट बाग्लुङकी तारा श्रीस मगर पहिलो पटक भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला प्रतियोगी थिइन् । ताराले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा पछि पारेर फाइनल राउन्डको यात्रा तय गरेकी थिइन् ।

टिम तृष्णाबाट खोटाङका ज्वाला राई भाग्यमानी ठहरिए । ज्वालाले काठमाडौंकी अफ्रिता खड्गीलाई फाइनलमा पुग्नबाट रोकिदिए । 

भ्वाइस अफ नेपाल सिजन ३ को विजेताले २५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै उसले वर्ल्ड टूरको पनि मौका पाउनेछ ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए । 


कस्तो लाग्यो ?

यो पनि