मंसिर ०६, २०८१, बिहीबार
               

‘मैले छोएको पानी चल्दैन’ गाएपछि विभेद भोगे गायक यशकुमारले

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

चर्चिन गायक यशकुमारको जन्मथलो सर्लाही हो । उनका बुवा नेपाल अर्थात् बाहुन समुदायका हुन् । तर आमा भने परियार अर्थात् दलित समुदायकी हुन् । अन्तरजातीय परिवारमा जन्मिएका उनी सानेमा काठमाडौं आए । १० वर्षको हुँदा आमाबुवासहित काठमाडौं आएको बताउने उनी गौशालामा हुर्किए । गाँउमा विभेद भएरै उनका बाआमाले गाँउ छाडेर हिँडनुपरेको रहेछ ।

सर्लाहीमा बस्दा उनी सानै थिए । यसैले कसैले जातीय छुवाछूत गरेको चालै पाएनन् । बालापनको उमेरमा कसैले विभेद गरे पनि थाहै नभएको उनी बताउँछन् ।

काठमाडौं आएपछि पनि खासै विभेद झेल्नु नपरेको उनको भोगाई छ । उनी भन्छन् ‘किनभने विद्यालय हुँदा बुबाले आफ्नै थर नेपाल लेखिदिनुभयो । यसैले मलाई दलित भन्ने धेरैलाई थाहा भएन ।’ नागरिकता बनाउँदा  यशकुमार आफू सचेत भइसकेका थिए । यसैले पछाडि आमाको थर परियार समेत जोडे । त्यति बेलासम्म उनले विभेद भोग्नु परेन । 

उनी बाल्यअवस्था देखिनै गीत गाउँथे । सङ्घर्ष गर्दै थिए । बुबाले अन्तरजातीय विवाह गरेपछि गाउँमा धेरैले दुर्व्यवहार गरेको घटना उनलाई थाहा भयो । जातजातिमाथि छुवाछुत गरेका समाचारले उनलाई जलन हुन्थ्यो । समानताको चेतनाका लागि बिगुल फुक्ने उनको सोचाई आयो । साङ्गीतिक क्षेत्रमा भर्खरै पाइला चाल्दै आएका उनले छुवाछुतविरुद्धकै गीत गाए । ‘मैले छोएको पानी चल्दैन’ गीत रेकर्ड गराए । गीत सुपर हिट भयो । 

त्यही गीतले यशकुमारलाई गायकको रूपमा स्थापित गरायो । तब बल्ल सुरु भयो उनीमाथिको जातीय विभेद । ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत चर्चित भए लगतै यशकुमारले धेरै तीतो पीडा भोग्नुपर्याे । 

एक प्रतिनिधि घटना यशकुमार सम्झन्छन् – ‘मेरो असाध्यै मिल्ने साथीको बहिनीको विवाह थियो, उसले कार्ड दिएर भन्यो । यो निम्तो तँलाई औपचारिकताको लागि मात्रै दिएको है । आउनलाई होइन । सरी यार । म त जातपात मान्दिनँ तर आमाबुवा हुनुहुन्छ । बरु हामी पछि रमाइलो गरौँला नि ! भन्यो । त्यो कुराले मेरो मुटुमा घोच्यो ।’

यशकुमार धेरै ब्राह्मण परिवारका साथी थिए । आउजाउ लगातार भइरहन्थ्यो । ‘मैले छोएको पानी चल्दैन’ गीतले चर्चा पाएपछि पहिलैदेखि आउजाउ भइरहने घरमा समेत उनको लागि गेट बन्द भयो । काठमाडौं घर भएका आचार्य थरका उनको साथीका बुवाले एक दिन छोरालाई सोधेछन्, ‘हामे घरमा आइरहने तेरो साथीले पानी चल्दैन भन्ने गीत त गायो, ऊ आफैँ चाहिँ पानी चल्ने कि नचल्ने पर्‍यों ?’ 

यो कुरा साथीले यशकुमारलाई सुनाएछन् । यशकुमारले सहजै भने ‘मेरो बुबा नेपाल  र आमा परियार हुन ।’ यसपछि साथीको घरमा दलित प्रवेश गरेको भन्दै सुनपानी छर्कियो । त्यसपछि उनलाई कहिल्यै साथीको घरमा बोलाइएन ।

विदेशमा समेत विभेद

एकपल्ट कन्सर्टका लागि यशकुमार लन्डन पुगेका थिए । त्यहाँ एक जना चिनेका दाजुले खाना खान बोलाए । उनी निम्तो स्विकार्न गए । खाना खाइसकेपछि ती दाजु काममा जान कपडा फेर्दै थिए । हतार–हतार भएकाले हो वा अरू लुगा धोएकाले हो दाजुले अलि मैलो र पुरानो कपडा लगाएछन् ।  ती दाई कि पत्नीले भनिन् ‘यो लुगामा त हजुर दमाई कामी जस्तै पो देखिनुभयो ।’ 

सँगै रहेका यशकुमारलाई यो प्रतिक्रिया सुनेपछि असाध्यै पीडा बोध भयो । उनी भन्छन् ‘म केही बोल्नै सकिनँ, उहाँको हुर्काइ नै त्यसै गरी भयो होला । बेलायत पुगेर पनि जातीय विभेद र हिंसा गर्ने मानसिकता नबदलिएको देखेँ । म रिसाइन । तर साह्रै चित्त, दुख्यो ।’

एकताका काठमाडौंमा सारै लोडसेडिङ हुन्थ्यो । त्यो समयको कहिल्यै नबिर्सने अर्को तीतो अनुभव छ यशकुमारसँग । बिजुली बत्ती नभएकाले रेकर्डिङ स्टुडियोमा खासै काम हुँदैनथ्यो । उनी साथीहरूसँग स्टुडियोमै बरालिएर बस्थे । दिउँसो खाजा लिन पालैपालो जान्थे ।

एक दिन खाजा लिन जाने पालो चल्तीका एक गीतकारको थियो । खाजा किन्नका लागि उनलाई पैसा दिने एक जनाले भने– ‘बचेको फिर्ता ल्याऊ है भाइ !’ त्यो भाईले जवाफ दियो ‘म (जातीय अपमान गर्ने शब्द) हो र फिर्ता आएको पैसा खाने भन्यो ।’  यो सुनेपछि यशकुमारको चित्त दुख्यो । रिस पनि उठ्यो । उनले तुरुन्त आपत्ति जनाए । ती सङ्गीतकार भाईले भने ‘सरी दाइ, मैले त यहाँ तपाईँ हुनुहुन्छ भनेर याद नै गरेनछु ।’ अनि  यशकुमारले भने ‘यस्ता खालका अपमान म हुँदा वा नहुँदा अरू दलित हुँदा वा नहुँदा कहिले पनि नगर्नु ।’

गायकपछि यशकुमार सिनेमाको नायक पनि बने । सिनेमा थियो– बाटो मुनिको फूल । त्यसको सुटिङका बेला केही शुभचिन्तकहरू सेटमै आइपुगे । छिटो सुटिङ सक्नुपर्ने र आफ्नै सटको पालो भएकाले उनले समय दिन भ्याएनन् । यशकुमार सम्झन्छन्, ‘उहाँहरूले अर्का नायक बाबु बोगटीसँग तस्बिर खिच्नुभयो र भन्नुभयो– अलिकति प्रगति गरेपछि ठूलो पल्टिन्छ, जात जनाइहाल्यो ।’

यशकुमारले झेलेका जातीय हिंसा र विभेदका घटना कति कति । एक पटक काठमाडौंमा नाम चलेकी एक महिला कलाकारले भनिन्, ‘तपाईँ त अरू दलितभन्दा फरक हुनुहुन्छ । सोच्ने, बोल्ने शैली फरक छ । पक्कै पनि ‘मिक्स’ भएर यस्तो हुनुभएको होला ।’

चेतनशील र पढेलेखेका मानिसले नै विभेद गर्दा उनलाई उनीहरूको चेतनास्तर देखेर दया लाग्छ  । यशकुमार प्रत्यक्ष विभेद भोग्दा तुरुन्तै प्रतिवाद गर्छन् । उनी भन्छन् ‘बरु अप्रत्यक्ष अपमान चाहिँ सामना गर्न पनि नपरोस्, विभेद कहीकतै हुनुहुँदैन तापनि प्रत्यक्ष विभेद भइहालेमा म प्रतिवाद गर्छु ।’


कस्तो लाग्यो ?

यो पनि