बैशाख १४, २०८१, शुक्रबार
               

दोहोरी साँझले खारिएकी गायिका – पार्वती सुवेदी
पहिले कुरा काट्नेहरू नै अहिले फ्यान

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

लोकदोहोरी गीतमा पछिल्लो समय आस गरिएकी गायिका हुन् – पार्वती सुवेदी । दोहोरी साँझबाट करिअर सुरु गरेकी उनको पछिल्लो ‘पानी कुलाको’ गीत चर्चामा छ । मौलिक लोकभाकामा आधारित ‘पानी कुलाको’ बोलको गीतको भिडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो । गीतमा पार्वतीलाई गायक तथा सर्जक सुरज लामिछाने साथ दिएका छन् । गीतमा गाउँघर मेलापातमा प्रयोग गरिने मौलिक शब्द छ । 

सानै उमेरदेखि गीत गाउन रुचाउने गायिका पार्वती यस क्षेत्रमा लागेको भने धेरै भएको छैन । गाउने पोश अँगालेकी उनका आफ्नै गीत भने कमै छन् । किनकि उनी लोक तथा दोहोरी गायिका हुन् । 

उनले भनिन्, ‘गीत गाउन मन पर्थ्यो । गाउँमा मैले गाएकी गीतले प्रशंसा पाउँथ्यो । त्यस्तै स–साना कार्यक्रमहरूमा गीत गाउँथे । त्यसरी नै बिस्तारै सबैले चिन्न थाले र मेरो कन्फिडेन्स पनि बढ्दै गयो । त्यसपछि गायिका बन्ने चाहाना बढ्दै गयो ।’

उनी बागलुङमा जन्मिएकी हुन् । बागलुङ सदरमुकाम गलकोटबाट नजिक भए पनि दुर्गम थियो उनको गाउँ । टुकी बत्तीमै पढेर स्कुले शिक्षा सुरु गरेकी थिइन् । पछि मात्रै बिजुली लाइन आयो । रेडियो घरमै भए पनि टेलिभिजन हेर्न पाएकी थिइनन् ।  

‘हाम्रो घरमा त टिभी थिएन, टिभी हेर्न अन्त जानुपथ्र्याे । गाउँमा ठूलाबला धनीमानीले राख्नुभएको थियो । टिभीमा गीत गाएको देखेर पछि आफू पनि त्यस्तै गर्छ भन्ने लाग्थ्यो’ पार्वतीले सुनाइन् । 

पार्वती गाउँमै गलकोट उच्च माविमा प्लस टु सकेर काठमाडौँ आएकी हुन् । गाउँले जीवनमा पढाइ भने निक्कै सङ्घर्षपूर्ण थियो । कहिले किताब नपाएर भने निकै सास्ती बेहोर्नुर्‍यो । धेरै पुस्तक बजारमा किन्न पाइँदै नपाइने, लाइब्रेरीमा पनि हुन्नथ्यो । साथीहरूसँग फोटोकपी गरेर लिनुपर्थ्यो । अनि घोक्नुपर्ने । कहिले काँही घरको कामले स्कुल जान पाइँदैनथ्यो । 

गीत गाउन भने पार्वतीले त्यही स्कुलकै स्टेजबाट सुरु गरेकी हुन् । स्कुलमा कहिलेकाहीँ सांस्कृतिक कार्यक्रम हुन्थे । दसैँ बिदा हुनुअघि तथा कहिले स्कुलको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम हुन्थे । गीत गाउनको लागि शिक्षक तथा साथीहरूले उनकै खोजी गर्थे । पार्वतीले स्कुलमा हुने धेरै कार्यक्रममा गीत गाइन् । स्कुलको स्टेजले उनको गाउने धोको पूरा भएन ।

उनले प्लस टु पनि सकिसकेकी थिइन् । त्यही बेला उनको सम्पर्क भयो गाउँकै एक जना साथिसंँग, जो काठमाडौँमा दोहोरी साँझमा काम गर्थिन् । दरबारमार्ग को एउटा दोहोरी साँझमा काम गर्ने उनै साथीसँग पार्वती पनि काठमाडौँ आइन्, गीत गाउने धोको पुरा गर्न । 

सुरुमै उनी दरबारमर्गास्थित एक दोहोरी साँझमा स्टेज चढिन् । उनको स्वर राम्रो भए पनि दोहोरी साँझका सञ्चालकले ‘उनको गाएको भएन’ भनिदिए । तै पनि उनले हिम्मत हारिनन् । फेरि अर्को दोहोरीमा काम सुरु गरिन् । पाथीभरा दोहोरी साँझ, रेसुङ्गा दोहोरी साँझ हुँदै उनी अहिले टप राजधानी दोहोरी साँझमा गाउन थालेकी छिन् ।

पार्वती भन्छिन् ‘दोहोरी साँझमा ४ वर्ष जति गाएँ । त्यही मैले राम्रो छहारी राम्रो पाएँ । स्वर माझियो, र त अहिले आफ्नै आवाजमा गीत रेकर्ड गराएकी छु, धेरैले मन पराइदिनुभएको छ ।’ 

दोहोरी साँझमै गाएर धेरै कन्फिडेन्स लेभल बढेको उनलाई महसुस भएको छ । उनी भन्छिन् ‘स्टेज नै मेरो करिअरको आधार हो, त्यही स्टेजले मलाई आज यो स्थानमा आउन सघाएको छ ।’ 

अनि आइन खुला स्टेजमा

दोहोरी रेस्टुरेन्टमा स्टेज भए पनि बाहिरी स्टेजको तुलनामा साँघुरो थियो । सीमित दर्शकका बीचमा गाउनुपर्ने । सेलीब्रेटी गायिका हुनका लागि खुल्ला स्टेजमा नगाई सम्भव थिएन । 

त्यही बेला उनले केही खुल्ला स्टेजहरू समेत चढ्ने मौका पाइन् । मेला महोत्सवबाट समेत गीत गाउन उनलाई बोलायो । पार्वती सम्झिन्छिन् ‘दर्शकको ठेलमठेल भीड । माहोल तातेको हुन्थ्यो । स्टेजमा पुग्न नपाई दर्शकको हुटिङ सुरु भइहाल्थ्यो, दोहोरी गाएर तत्कालै सटिक र रमाइलो जवाफ फर्काएर सबैलाई सन्तुष्ट बनाउनुपर्ने चुनौती हुन्थ्यो ।’ 

स्टेजकै कार्यक्रममा पार्वतीले पशुपति शर्मा, बद्री पङ्गेनीलगायतका केही चर्चित दोहोरी गायकसँग समेत दोहोरीमा भिडकी थिइन् ।

दोहोरी साँझ काम गर्ने केटी भनेर कुरा काट्थे

अहिले युटुवमा धेरैले लोक दोहोरी गीत हेर्ने गर्छन् । त्यसैले धेरैले लाइभ दोहोरी कार्यक्रम बनाउने गर्छन् । ती कार्यक्रमबाट पनि पार्वतीलाई दोहोरी गीत गाउन निम्तो आउने गर्छ । उनलाई अहिले एक छिन फुर्सद छैन । बिहान पढाई, दिउँसो लाइभ दोहोरी तथा विभिन्न कार्यक्रम अनि साँझमा दोहोरी साँझमा गाउन जानुपर्छ ।  

अहिले पनि रात्रिकालीन मनोरञ्जनको क्षेत्र दोहोरी साँझमा गीत गाउने छोरी मान्छेको आलोचना गर्ने प्रवृत्ति छँदै छ । पार्वती काठमाडाँै आउने बेलामा त यो प्रवृत्ति झनै थियो । तर, उनलाई कहिल्यै समस्या परेन । 

उनको घरपरिवारले सङ्गीत बुझेका छन् । त्यसमा पनि काठमाडौँमा भएका अधिकांश. दोहोरी साँझमा गीत गाउने बागलुङकै छन् । लोक दोहोरी साँझमा गीत गाउने बागलुङकै कलाकार धेरै भएकैले होला, ‘बुङ्लुङ्गे विनाका दोहोरी साँझ नै हुँदैनन्’ भनेर समेत भनिन्छ । जिल्लाकै धेरै जना यही क्षेत्रका भएकाले आफूलाई कुनै समस्या नपरेको पार्वती बताउँछिन् ।  उनी भन्छिन् ‘घर परिवारकाले गाउँ छोरी, तिमीले गाउनुपर्छ, यसै भन्थे । घर वाटै अनुमति पाएपछि जोसुकैले जेसुकै भनोस् ।

यद्यपि केही साथीहरू र छरछिमेकमा कुरा काट्नेहरू पनि रहेको उनी सुनाउँछिन्   । उनी भन्छिन् ‘यो मेरो पेसा हो, म आफ्नो ठाउँमा ठिक छु भने अरूले जे सुकै भनोस्, म आफ्नो कर्ममा निरन्तर अघि बढ्छु । आफ्नो लक्ष्यमा पुगेरै छाड्नेछु ।’

पहिला आफूलाई दोहोरी साँझमा काम गर्ने केटी भनेर हेप्नेहरू अहिले आफ्नै फ्यान भएका उनी बताउँछिन् । उनी सुनाउँछिन् ‘सुरुमा काठमाडौँमा आएर गीत गाएको साल दसैँमा घर गएकी थिएँ । घरमै आएर एक जना दिदीले तँ त कस्तो नराम्रो काममा लागिछस् भन्नुभयो । खुब चित्त दुख्यो । मेरो गीत बजारमा आएपछि  त्यही दिदीले फोन गरेर ल राम्रो गरिछस् बधाई भन्नुभयो ।’

दोहोरी छाडा भएकोमा चिन्ता

पार्वतीलाई मौलिक भाका भएका गीत मन पर्छ । गीत केवल मनोरञ्जनमा सीमित हुनुहुन्न भन्ने मान्यता राख्ने उनी गीतमा आम लोक जीवनका जीवनशैली झल्किनुपर्ने मान्यता राख्छिन् । 

उनी भन्छिन्, ‘लोक गीत जीवन्त हुनुपर्छ । केवल माया प्रेमको कुरा गरेर मात्रै गाएको गीत–गीतजस्तो हुँदैन, गाउँ बेसीका कुरा हुनुपर्छ । प्रचलित भाकाहरू पुराना लय, थेगो, शब्द हुनुपर्छ ।’

पछिल्लो समय लोक दोहोरी गीत मर्म भन्दा पर गएकोमा पार्वती चिन्ता व्यक्त गर्छिन् । यसले मौलिक संस्कृतमा असर पर्न सक्ने खतरा रहेको उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘कतिपयले छाडा प्रवृत्तिका गीत गाएका छन् यो राम्रो होइन, छाडा प्रवृत्तिले मौलिक पहिचान छाँयामा पार्छ कि भन्ने लाग्छ ।’

यो पनि