चैत १६, २०८०, शुक्रबार
               

इभेन्टका बादशाह–खगेश रन्जितकार

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं न्युरोडका रैथाने खगेश रन्जितकार डेढ दशकअघिसम्म बन्दुक हातमा लिएर परेड खेल्थे । माओवादी सशस्त्र द्वन्द्वकामा सयौँ सशस्त्र साथीहरूलाई साथमा लिएर उनले राष्ट्रको तर्फबाट युद्ध लडे । तर, डेढ दशकपछि पनि खगेश युद्ध लड्दै छन् । तर, बन्दुकबिनाको । राइफल चलाउने हातमा माइक समातेर उनी नेपाली कला र मोडलिङ क्षेत्रलाई उचाइमा पुर्‍याउने भीषण युद्धमा होमिएका छन् उनी । उनी बर्सेनी दर्जनभन्दा बढी इभेन्ट आयोजना गर्दै आएका छन् । 

उमेर सानै थियो । घरपरिवारको सुझाव र देशको सेवा गर्ने रुचिका कारण उनी नेपाली सेनाको जागिरे भए । दुई दशक बढी राष्ट्रका लागि योगदान दिए । सेनामा छँदा खगेश एक हातमा राइफल र अर्को हातमा माइक नै समात्थे । उनी मिठो गीत गाउँथे ।  त्यसैले पनि उनी सेनाको सांगीतिक समूहमा समेत थिए ।

सेनाको जागिरको अवकाशपछिको जीवनमा नेपाली कला क्षेत्रमा काम गर्ने सपना उनको थियो । अन्ततः जागिरबाट अवकाश पाए । उनको जीवनको ऊर्जाशील समय सेनामै सकिए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सोच र उत्साह मरेको थिएन । अनि उनी लागे विभिन्न इभेन्ट अर्गनाइजेसन गर्नतर्फ । उनी उमेरले ५० हाराहारीमा छन्, तर उनको जोस १६ वर्षको भन्दा कम छैन ।  त्यसैको सिलसिला भन्नुपर्छ खगेश अचेल फुर्सदमा छैनन् । कहिले ब्युटी कन्टेस्ट, कहिले फेसन सो, कहिले रियालिटी सो, यस्तैयस्तै कुनै न कुनै इभेन्टमा व्यस्त हुँदै आएका छन् ।

खगेशले अहिले कोरोना महामारीको समयमा पनि ‘वेस्ट आइकन नेपाल २०२१’ गरिरहेका छन् । मंगलबार मात्र काठमाडौं बसन्तपुर ‘भोये छे’ रेस्टुरेन्टमा ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न भएको छ । तर, लकडाउनका कारण  फाइनल राउन्ड प्रभावित हुने देखिन्छ ।

यस्तै, खगेशको आफ्नै कम्पनी काराओके इन्टरटेन्मेन्ट प्रालिबाटै धेरै ‘ब्युटी कन्टेस्ट तथा रियालिटी सो’ गर्दै आएका छन् । मिस एसइई आइकन, मिस टिन नेपाल, मिस नेवा आइकन, स्पोर्ट आइकन नेपाल, लिल फेसन आइकन, मिस फेसन–फुसन आइकन,  मिस नेसनल, मिस्टर नेसनललगायत इभेन्ट उनले गरिरहेका छन् । 

‘अनलाइन सिंगिङ च्याम्पियन’, म्युजिक ट्र्याकमा गीत गाउने प्रतियोगिता काराओके आइकन’ पनि उनले नियमित गरिरहेका छन् । विभिन्न चाडपर्वमा सिजनेबल सांगीतिक तथा मोडलिङ र्‍यायाम्पका इभेन्ट गर्न त खगेश छुटाउँदै छुटाउँदैनन् । 

विगत लामो समयदेखि इभेन्ट अर्गनाईज तथा डिरेक्सन क्षेत्रमा उल्लेखनीय योगदान दिएका खगेश आफैँमा राम्रो गायक पनि हुन् । इभेन्ट आयोजनाको क्षेत्रमा कुशल भूमिका निर्वाह गरेको भन्दै उनी धेरै अवार्डमार्फत् सम्मानित भएका छन् । 

लामो समयदेखि आफूले सोचेको सपना पूरा हुँदा फुरुङ छन् खगेश । उनलाई नयाँ–नयाँ इभेन्ट गर्ने भोक अझै मरेको छैन । 

खगेश भन्छन् ‘इभेन्ट अर्गनाइजरमै आफ्नो पहिचान तिखार्ने मन छ मलाई । म अझै सफल इभेन्ट आयोजकको छिँडीमा पुग्ने लक्ष्य छ ।’ आफूले सोचेको कुरा पूरा भइरहेको र पूरा गरिदिएकोमा  भगवानलाई उनी धन्यवाद दिन्छन् । 

जिम्मेवारीका हिसाबले इभेन्ट आयोजना गर्न कत्तिको गह्रौँ छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘ताज पहिराउने काम गह्रौँ नै हुन्छ । कार्यक्रम सफल बनाउन गर्नुपर्ने जिम्मेवारी धेरै हुन्छन् । सबै जिम्मेवारी पूरा गर्नुपर्ने छ ।’ 

उनी आफू सफल हुन आफ्नी जीवन सङ्गिनीको ठुलो हात रहेको बताउँछन् । खगेश भन्छन्, ‘हरेक पुरुष सफल हुनमा महिलाको हात हुन्छ भन्छन्, त्यो मैले मेरो जीवन सङ्गिनीबाट प्रत्यक्ष अनुभव गरेको छु ।’


कस्तो लाग्यो ?

यो पनि