जेठ ०३, २०८१, बिहीबार
               

आज १३५औँ फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । परम्परा अनुसार विगतदेखि नै मनाइँदै आएको फाल्गुनन्द जन्मजयन्ती आज पनि १३५औँ जन्मजयन्ती विधिगत रुपमा मनाइँदै छ । समाज सुधारकको रूपमा परिचित रहेका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार (आज) किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँने भएका हुन् । 

नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विशेष पूजासहितका कार्यक्रम राखिने गरिएको थियो । तर, यस वर्ष कोरोना भाइरसको महामारीले सामान्य पूजा र कार्यक्रम मात्र गर्ने तयारी भएको छ । किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्दै आएका छन् ।

महा गुरु लिङ्देनको जन्मजयन्ती परेकाले आज प्रदेश १ मा विशेष सार्वजनिक बिदा दिइएको स्रोतले जनाएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले आज यस दिवसको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको जानकारी दिए । 

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । उनले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका थिए । उनले किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए ।

उनको पहलमा पाँचथरको चोकमागुमा १९८८ सालमा गरिएको बृहत भेलाले ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिइएको थियो ।

लगभग ९ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारको लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको थियो । उनको २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि