बैशाख १८, २०८१, मंगलबार
               

बडादशैँ : नवरात्रमा शक्तिपीठमा नित्य पूजा मात्रै गरिने

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालीको महान चाड बडादशैँको अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौं उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।

पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । 

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ ।

कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ ।

आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो । नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रका ९ दिनसम्म ९ वटी देवीको विशेष आराधना गरिन्छ ।

 शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग

विश्व हिन्दू महासंघले भने नेपालीको महान चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ । सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।

महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेत्र भएको उल्लेख गरेका छन् । बडादशैँको अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।

महासंघ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् । नेपालीको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ ।

आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ । त्यहीँ दुर्गा भवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ । 


कस्तो लाग्यो ?

यो पनि