चलचित्र ‘जानी नजानी’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्रीको निरिशा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीबार प्रोमो सार्वजनिक गरिएको छ ।
सार्वजनिक प्रोमोमा निरिषाको चरित्र चित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।
सोमबार र शुक्रबार ‘सोनी सब’बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिशाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन् । जसमा उनको मुख्य भूमिका थियो ।
अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ चलचित्र साइन गरेकी छिन् । निरिषा बलिउड प्रवेशका लागि पनि प्रयास गरिरहेकी छिन् ।