बैशाख २०, २०८१, बिहीबार
               

प्रदर्शनीमा प्रकृति र समुदाय जोडेका कला (फोटो फिचर)

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

गुल्मी । मूर्तिकार भुवन थापा ‘बहुबि’ ले स्थानीय सामाग्रीबाट तयार पारेका कलाकृतिको प्रदर्शनी भएको छ । सत्यवती गाउँपालिका–२, ठूलो लुम्पेकस्थित सत्यवती लेकमा ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ लाई प्रस्तुत गरिएको हो ।

प्रकृति, कला र समुदायको सम्बन्धलाई स्थानीय सामाग्री प्रयोग गरी तयार पारिएका कलाको शुक्रबार सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गरे । उनले स्थानीय सामाग्रीको प्रयोग गरी बनाइएका कलाकृतिले गाउँपालिकाको पर्यटकीय स्थललाई चिनाउन मद्दत गरेको बताए । उनले भने, ‘समाज रुपान्तरणमा कला र संस्कृतिको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’

अध्यक्ष ढकालले यही जन्मिएका प्रतिभाको कला आफ्नै ठाउँमा देख्न पाउँदा आफू निकै खुसी लागेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार थापाले देशलाई महत्वपूर्ण योगदान दिएको भनाइ राखे । विश्वव्यापी महामारीको रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संत्रासका बीच ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ लाई प्रस्तुत गरिएको कलाकार भुवन थापाले बताए । 

थापाद्वारा बनाइएका कलामा स्थानीय परम्परागत सीप, ज्ञान र प्रविधिलाई प्रयोग गरिएको छ । कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीमा कलाकार थापाले बाँस र स्थानीय सामाग्री प्रयोग गरी कला बनाएका हुन् । कलाकार थापाले भने, ‘कोरोना कहरका बीच एकान्तबासमा बसेर समुदायमा आधारित डोको बुन्ने स्थानीय परम्परागत उमयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयास गरेको छु ।’

उनले  स्थानीय सामाग्रीबाट तयार पारिएका कामलाई प्रदर्शनीमा ल्याएको बताए । उनले भने, ‘यसै गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेकस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पवित्रभूमि नेपालको सय गन्तव्य क्षेत्रमध्ये एक पर्यटकीय स्थल सत्यवती लेकमा औपचारिक रुपमा प्रदर्शनी गरिएको हो ।’ उनले प्रकृतिसँग कला र कलासँग समुदायलाई जोडेर हेर्ने अभिलाषाका साथ कला बनाइएको जिकिर गरे । 

कलाकार थापाले भने, ‘परिणाममा यस महामारीले पारेको शारीरिक तथा मानसिक तनावबाट मुक्ति दिने आत्मिक औषधि प्राप्त गर्न सकियोस् भन्ने कामनाका कला रचना गरेको हुँ ।’ कलाले प्रकति, समाज र स्थानीय ज्ञानलाई जोड्दै सौन्दर्यानुभूति दिनुपर्छ भन्ने भावका साथ कलाकृति बनाइएको कलाकार थापाले बताए ।

उनले भने, ‘हुनत यो प्रस्तुतिले कुनै सापेक्षित अर्थभाव बोकेको नहुन सक्छ । तर, दर्शकमा पर्ने आत्मगत अनुभूति नै यसको अर्थभाव हुनेछ भन्ने ठान्दछु ।’ उनले काठमाडौं विश्वविद्यालय कला विभाग, ललितकला क्याम्पस लगायतका कलासंस्था तथा कलाकारलाई गुल्मीको सत्यवती लेकबाट सम्झेको बताउँदै कलाको बिहंगमतालाई देशव्यापी बनाउन सबै एकजुट हुनुपर्ने बताए ।

उक्त प्रदर्शनीलाई शुभकामना सन्देश दिँदै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मी सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकस्थित सत्यवती क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानमा स्थानीय जनसमुदायको आफ्नै मौलिक कला र सीपले समेत विशिष्ट क्षेत्र रहेको बताएका छन् ।

उनले सत्यवती प्रवद्र्धनमा योगदान पुग्ने गरी डोको बुन्ने स्थानीय परम्परागत उपयोगी कलालाई परिष्कृत र परिमार्जन गर्दै स्थापित कलाकार भुवन थापा ‘बहुबि’ को विशेष प्रस्तुतिले मौलिकतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउँ पुग्ने बताएका छन् । उनले सन्देशमा थापाको विशेष प्रस्तुति रहेको ‘प्रकृति र कला’ विषयक प्रदर्शनीले आफू हर्षित भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘कलाकारिताको माध्यमबाट प्राकृतिक सौन्दर्यले भरिपूर्ण पवित्र भूमि सत्यवतीमा पर्यटन प्रवद्र्धन गर्न सकिनेमा म विश्वस्त छु । प्रकृतिसँग कला र कलासँग समुदायलाई जोडेर हेर्ने उद्देश्य केन्द्रित प्रदर्शनीले विश्वमा महामारीको रुपमा रहेको कोभिड–१९ ले मानव समुदायमा पारेको शारीरिक तथा मानसिक तनावबाट समेत मुक्ति दिने विश्वास लिएको छु ।’

मन्त्री बरालले ललितकलामार्फत प्रवद्र्धनात्मक कार्यलाई निरन्तरता दिई प्राकृतिक सौन्दर्य एवं सांस्कृतिक सम्पदामाथि अझ थप मानवीय कला सिर्जनालाई जोड्न सकेमा सुनमा सुगन्ध थपिने बताएका छन् । यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनीको शुभकामना दिँदै समुदायमा आधारित डोको बुन्ने परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयत्न गर्नु अति नै प्रशंसनीय कार्य भएको बताएका छन् ।

उनले आधुनिक मूर्तिकलाका साधक, सिर्जनामा प्रयोगहरु गर्न पछि नहट्ने एक स्वभालम्बी मूर्तिकारको रुपमा परिचित चर्चित मूर्तिकार भुवन थापा ‘बहुबि’ ले लकडाउनको समयको सदुपयोग गरेर कलाकृतिको सिर्जना गरेकोमा खुसी लागेको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा कुलपति कर्माचार्यले अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरुमा शारीरिक तथा मानसिक रुपमा तनाब थपिएको लेखेका छन् ।

उनले यस्तो अवस्थामा मूर्तिकार थापाले आयोजना गर्न लागेको ललितकला प्रदर्शनीले केही हदसम्म भए पनि स्थानीय जनसमुदायलाई मनोरञ्जन र मानसिक शान्ति मिल्ने आशा एवं विश्वास लिएको जनाएका छन् । उनले लेखेका छन्, ‘प्रकृति र कला विषयक प्रदर्शनीले प्रकृति, कला र समुदायको चुल्ठीबाटीको रुपमा एक साथ आनन्दको अनुभूति दिनेछ भन्ने पूर्ण विश्वास राख्दै प्रदर्शनीको सफलताको कामना गर्दछु ।’ 

सो प्रदर्शनीमा गाउँपालिकाका उपप्रमुख सुवर्णा शाहीले कला र संस्कृतिले मानवजातिलाई समृद्ध बनाएको बताइन् । विशिष्ट अतिथिको मन्तव्य दिँदै उनले समुदायमा आधारित कला प्रदर्शनी स्थानीय रुपमा विकास भएका मौलिक र संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने विचार व्यक्त गरिन् । सो कला प्रदर्शनीको संयोजन सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र, नेपाल, ठूलो लुम्पेक सामुदायिक पर्यटन विकास समितिले गरेका छन् ।

साथै प्रदर्शनीलाई प्रभामण्डल युवा क्लव, थुम्काको सहयोग रहेको कलाकार थापाले जानकारी दिए । प्रदर्शनीमा सत्यवती गाउँपालिका २ र ३ वडा प्रतिनिधि, स्थानीय अगुवा तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो । टोपला थापा, जुप्त थापा, सत्यवती गाउँपालिका वडा नं. १ का वडाध्क्षय भीमप्रसाद पाण्डे लगायतका व्यक्तित्वले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालक नार्जन फौजा मगरले नेपालमा मात्रै नभएर कलाकार थापाले विश्वका विभिन्न स्थानमा नेपाली कला र संस्कृतिलाई पु¥याएको भनाइ राखे । सो प्रदर्शनीका सभापति युवराज तरामु मगरले कलालाई प्रकृति र समुदायमा जोडेर स्थानीय मौलिकतालाई संरक्षण गर्न कार्यक्रम सफल भएको विचार व्यक्त गरे । आयोजक सत्यवती क्षेत्र संरक्षण पर्यटन विकास केन्द्र नेपालका अध्यक्षसमेत रहेका तरामु मगरले समाज विकासमा कलाको भूमिका अहम् हुने भएकाले यसको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि