बैशाख २०, २०८१, बिहीबार
               

‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ अब विश्वभरका दर्शकले हेर्न सक्ने

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र नयाँ एपमार्फत दर्शकमाझ आउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ बुधबार सार्वजनिक भएका छन् । 

दुईवटै चलचित्र स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्नेछन् । ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ ‘चलचित्र टिभी एप’मार्फत सार्वजनिक हुन लागेको दीपकराज गिरीले जानकारी दिए । यो एप पहिलोपटक रिलिज हुन लागेको हो । यसमा नेपालबाट नायिका ऋचा शर्मा आबद्ध छिन् । 

चलचित्र टिभी एप’ ले दीपकराज गिरीका ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ किनेर पहिलोपटक दर्शकमाझ आउन लागेको हो । तोकिएको रकम तिरेपछि दर्शकले चलचित्र हेर्न पाउनेछन् ।  

यी दुई चलचित्रबाट एड्भान्स स्वरुप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । “अहिले एड्भान्सका रुपमा २० लाख रुपैयाँ लिएका छौं,” दीपक भन्छन्, “बाँकी ६०/४० मा सम्झौता गरेका छौँ ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ । 

नेपालमा एउटा बलियो चलचित्रको डिजिटल एपको आवश्यकता रहेको भन्दै उनले यो एपलाई आफूले भोलिका दिनमा सशक्त र भरपर्दो एपका रुपमा हेरेको बताए । “नेपालमा एप नभएका होइनन्, तर विश्वासयोग्य भएनन् । तर, यसले सुरुमै २० लाख खर्च गरेर चलचित्र किन्ने आँट गरेकाले पक्कै पनि राम्रो बनाउनुभएको छ भन्ने विश्वास लागेर बेचेका हौँ,” उनले भने, “आन्तरिक रुपमा परीक्षण गरेर पाइरेसी गर्न नसक्ने गरी भरपर्दो बनाएका छौँ भनेपछि बेचेका हौँ ।”

नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको भन्दै दीपक यो आवश्यकतालाई ध्यानमा राखेर आफूले ‘चलचित्र टिभी एप’सँग सहकार्य गरेको बताउँछन् । 

अब नेपाली चलचित्रले युट्युबको विकल्प खोज्नुपर्नेमा उनको जोड छ । नेपाली चलचित्र प्रायः युट्युबमा अपलोड हुने गरेका छन् । युट्युबबाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुँदैन । त्यसैले, अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता रहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् । 

‘चलचित्र टिभी एप’ बाहेक नेपालमा अरु दुईटा चलचित्रलाई लक्षित गर्दै डिजिटल प्लेटफर्म आउने अन्तिम तयारीमा छन् । 

‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि