काठमाडौं । सुपरिचित गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालले देशभक्तिले भरिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेका छन् ।
गीतकार रमेश अधिकारीको रचनामा ‘लिपुलेकको बाटो’ म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
विश्वभरिका नेपालीहरूको ध्यानाकर्षित भएको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी विषयमा आधारित देशभक्तिपूर्ण गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् ।
गायक मदनगोपालले नेपाली भूभाग भारतले अतिक्रमण गरिरहँदा देश विदेशमा रहेका नेपालीहरूलाई एकजुट हुन गीतमार्फत सन्देश दिन खोजेका छन् । उनी भन्छन् यस्तो अवस्थामा गीतको माध्यमबाट मात्र नभई परिआएको बेलामा देशको रक्षा लागि सबै जुट्नु पर्ने उनको भनाइ छ । उक्त गीतको साउन्ड प्रोडक्सन, रेकर्ड, मिक्स अनि मास्टर सुशान्त गजुरेलले गरेका छन् ।
मोरङको सिजुवामा जन्मेर आफ्नो कर्मथलो काठमाडौं बनाएका मदनगोपालले हालसम्म यस्ता थुप्रै विषयमा गीत गाएका छन् ।
नेपालका विभिन्न विद्यालय तथा माइति नेपाल र म्युजिक नेपालको नेपाल म्युजिक संगीत विद्यालयमा पनि प्रशिक्षकका रूपमा कार्यरत मदनगोपालले आधुनिक, लोक, पपलगायतका गीतहरू गाएका छन् । उनले लकडाउनको समयलाई सदुपयोग गर्दै युट्युबबाटै संगीत कक्षा संचालन गर्दैआएका छन् ।