जेठ ०४, २०८१, शुक्रबार
               

वर्ष २०७६ : जम्मा ६ चलचित्रले बचाए लगानी

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

हामीले वर्ष २०७६ को अन्तिम दिनमा छौँ । हामीले २०७६ लाई छोडेर ७७ लाई स्वागत गर्ने तयारी गरिरहेका छौँ । यस्तैमा हामीले नेपाली चलचित्रको लागि वर्ष ०७६ कस्तो रह्यो त फर्केर नियाल्ने प्रयास गरेका छौँ ।

वर्ष ०७६को सुरुवात बैशाख १३ गते रिलिज भएको चलचित्र कालो वर्षबाट सुरु भएको थियो । जुन चलचित्र बक्स अफिसमा आएको-गएको दर्शकले पत्तो पाएनन् ।

पहिलो चलचित्रबाट नै खराब व्यापार सुरु गरेको यस वर्ष जम्मा ६ चलचित्रले लगानी सुरक्षित गर्न सके । आश गरिएका केही चलचित्र कोरोनाको चपेटामा परे र यो वर्ष रिलिज हुन पाएनन ।

वर्ष ०७६ को पहिलो नाफा कमाउने चलचित्र बन्यो, 'दाल भात तरकारी' । बैशाख २० मा रिलिज भएको यस चलचित्र समीक्षात्मक रुपमा सफलता पाएन । तर, व्यापारिक रुपमा भने यस चलचित्र सफल रह्यो ।

वर्षको दोस्रो हिट चलचित्र थियो, जेष्ठ ३ गते रिलिज भएको चलचित्र 'जात्रै जात्रा' । प्रदीप भट्टराईको निर्देशनमा बनेको यस चलचित्रले ३ करोड माथिको व्यापार गर्न सफल भएको थियो । 

सोही मितिमा रिलिज भएको आशातित चलचित्र 'वीर विक्रम-२' भने पत्तासाफ नै भयो ।

जात्रा पछि जेष्ठमा रिलिज भएका कुनै पनि चलचित्रले लगानी बचाउन सकेनन् भने असार, साउन र भदौमा पनि कुनै चलचित्र सफल भएनन । 

असोज ३ मा रिलिज भएको चलचित्र 'कबड्डी कबड्डी कबड्डी'ले भने हलमा राम्रो दर्शक पायो । यस चलचित्रले समीक्षात्क रुपमा पनि सफलता पायो भने व्यापारिक रुपमा पनि अब्बल ठहरियो । 

असोज २४ मा रिलिज भएको चलचित्र 'छ माया छपक्कै' यस वर्षको सर्वाधिक कमाई गर्ने चलचित्रमा गनिन्छ । दीपेन्द्र लामा निर्देशित यस चलचित्रले राम्रै प्रतिकृया पाएको थियो । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल लगायतको टिम जोडिएकाले पनि उच्च व्यापार गर्न सक्यो । 

मंसिर, पुस र माघमा रिलिज भएका कुनै पनि चलचित्रले दर्शक पाएनन । आश गरिएका केही चलचित्र पनि असफल रहे । 

यस वर्षको अन्तिम रिलिज चलचित्र 'सेन्टी भाइरस' र 'आमा' हुन् । फागुन ९ मा रिलिज भएका यी दुई चलचित्रमा सेन्टी भाइरस असफल रह्यो भने आमा हिट भयो । 

आमालाई समीक्षात्मक रुपमा पनि निकै राम्रो प्रतिकृया मिल्यो । 

बैशाखदेखि फागुन ९ गतेसम्मलाई हेर्दा जम्मा ५४ वटा चलचित्र रिलिज भए । जसमा जम्मा ६ वटा चलचित्रले मात्र आफ्नो लगानी सुरक्षित गरे । बाकीँ चलचित्रको लगानी बालुवामा पानी सरह भयो ।  


कस्तो लाग्यो ?

यो पनि