मंसिर ०१, २०८१, शनिबार
               

नेपाली चलचित्र क्षेत्रका अब्बल निर्देशक ऋषि लामिछाने

केशवराज अर्याल
चैत ०४, २०७६

ADVERTISEMENT

नेपाली सिनेमा जगत्‌मा तीन दशकदेखि फिल्ममार्फत हल र टेलिश्रृंखलामार्फत घरघरमा राज गरिरहेका निर्देशक ऋषि लामिछाने । उनको विचारमा एउटा निर्देशकले हल र घर दुवैका दर्शक सन्तुष्ट बनाउनुपर्ने हुन्निछ । मेकिङको हिसाबले दुवैमा बराबरी चुनौती हुन्छ । हल र घरमा छाएका निर्देशक नारी मनोविज्ञानमा केन्द्रित फिल्म निर्देशन गर्न माहिर छन् उनी ।

पारिवारिक ड्रामाको सुटिङमा नारी संवेदनाको गहिराइ टिप्न खोज्ने उनी आफ्ना फिल्म ‘कहीँ मिलन कहीँ बिछोड’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘श्रीमान्–श्रीमती’, ‘किस्मत २’, ‘हवल्दार सुन्तली’जस्ता दर्जनौँ फिल्म र पाँच सयभन्दा बढी टेलिशृंखला निर्देशनमा नारीलाई मुख्य पात्रका रूपमा उभ्याउँने  लामिछानेसँग नेपाल फ्ल्यासका लागि केशवराज अर्यालले गरेको कुराकानी ।

तपाईँ अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले रमाइलो टेलिभिजनबाट प्रसारित टेलिशृंखला ‘दृष्टि’ टेलिश्रृंखलामा व्यस्त छु । माया ठकुरीको ‘आमा जानुहोस्’ र ‘चौतारी साक्षी छ’ मा पनि काम थालेको छु । यससँगै आगामी असार पहिलो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको धारावाहिक टेलिश्रृंखला ‘पाहुना’ सुटिङको तयारी गर्दै छौँ ।  

कला क्षेत्रमा लाग्नुभएको कति भयो ?

कला क्षेत्रमा लागेको लगभग ३५ वर्ष जति भयो । २०३९ सालमा एउटा नाटकमा बाल कलाकारको रूपमा अभिनय गरेको थिएँ ।   जसको निर्देशन मणि थापाले गर्नुभएको थियो । त्यसपछि, ४७ मा आएर ‘भित्तामा कुँदिएका कथाहरू’मा अभिनय गरेको थिएँ, त्यसपछि नायकको भूमिकामा लगभग २० वटा भिडियोमा खेलेँ । सडक नाटकहरू पनि थुप्रै गरेँ । 

निर्देशन यात्राचाहिँ कहिलेदेखि सुरु गर्नुभयो ?  

निर्देशन यात्रा मैले ५३ सालबाट सुरु गरेको हुँ । ‘साथी’ फिल्ममा एसोसियट डाइरेक्टरको रूपमा काम गर्ने मौका पाएँ । ‘साथी’ हिट भयो । त्यसपछि, मैले ‘जीत’, ‘विद्रोही’, ‘गाँजल’ ‘दर्पणछायाँ’लगायत २२ वटा जति फिल्ममा मैले एसोसियट डाइरेक्टरको रूपमा काम गरेँ । मुख्य निर्देशकको रूपमा भने २०५९ सालमा ‘कहीँ मिलन कहीँ बिछोड’बाट सुरु गरेको हुँ । ‘आफ्नो मान्छे’ ‘श्रीमान्–श्रीमती’,‘हाम्रो माया जुनीजुनीलाई’, ‘सरी ल’, हवल्दार सुन्तली’, ‘किस्मत २’ ‘साथ’, ‘उजेली’लगायत फिल्म निर्देशन गरिसकेको छु । त्यस्तै, लगभग पाँच सय वटा टेलिश्रृंखला र केही दर्जन भिडियोहरू निर्देशन गरिसकेको छु । सबैभन्दा बढी चिनाउने टेलिश्रृंखला ‘परिचय’ नै हो । यसबाहेक ‘खबरदार’ फिल्मको स्क्रिप्टसमेत मैले लेखिसकेको छु ।

पहिलेका फिल्म र अहिलेका फिल्ममा कस्तो भिन्नता पाइन्छ ?

पहिलेका फिल्म र अहिलेका फिल्ममा धेरै भिन्नता पाइन्छ । पहिलेका फिल्ममा प्रविधि कमजोर थियो । फिल्म बनाउनुपर्दा भारत पुग्नुपर्थ्यो । पहिलेका फिल्ममा कथा बलियो हुन्थ्यो । एकाध हलहरू थिए । वर्षमा एउटा फिल्म बन्न मुस्किल थियो, त्यो पनि काठमाडौँका हलहरूमा मात्र चल्थे । दर्शकहरू हलसम्म पुग्न सक्दैनथे । तर, अहिले त्यस्तो छैन । अहिले फिल्म मोबाइलमै संसारको जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ । पहिलेका फिल्ममा सामाजिक विषयवस्तु हुन्थ्यो । तर, अहिले फिल्मी कथाको दायरा फराकिलो छ । हरेक विषयवस्तुलाई फिल्मको कथा बनाउन थालिएको छ । यो खुसीको कुरा हो ।

तपाईंका जीवनमा आएका खुसी र दुःखको क्षण ?

मान्छेले जीवनमा खुसी हुन सिक्नुपर्छ । मैले गरेका हरेक कामहरू सफल भएका छन् । थुप्रै अवार्डहरू पाएको छु । दर्शकको माया पाएको छु । आफूले गरेका काम सफल हुँदा र अरूले थाहा पाउँदा खुसी नै लाग्छ । तर, चलचित्र क्षेत्रमा राजनीतिकरण बढी हुँदा अलि दुःख लागेको छ । चलचित्रका साथै टेलिचलचित्र पनि थुपै हिट भएका छन् । ‘परिचय’, ‘खुसी पलभरको’, ‘दृष्टि’लगायत टेलिचलचित्र दर्शकले निकै मन पराएका छन् । जापानमा NHK TV ले  प्रसारण गरेको दक्षिण एसियाकै सर्वोत्कृष्ट टेलिचलचित्र भनेर ‘परिचय’लाई छानेको थियो ।      

जीवनमा सफलता प्राप्त गर्न के गर्नुपर्छ ?

मिहिनेत, लगाव, अनुशासन र इमानदारी । यति तीन चिज भयो भने जीवनमा कहिल्यै दुःख हुँदैन ।

फिल्म र टेलिफिल्ममा काम गर्दा कुनमा बढी सजिलो लाग्छ ?

दुवैमा सजिलो छैन, दुवैमा प्रेसर बढी हुन्छ । तर, सबै काम गर्दा आफ्नो अभिव्यक्ति दिने हो ।  तर, कामअनुसार सफल हुँदा सबै काममा खुसी नै हुन्छु । अनुभवका आधारमा भन्नुपर्दा फिल्ममा अलि बढी प्रेसर हुन्छ, किनभने त्यहाँ ठुलो लगानी परेको हुन्छ ।

कलाकार र चलचित्र क्षेत्रमा सरकारको सहयोग कस्तो छ ?

शून्य जस्तै छ । वर्षमा मात्र दुई लाख रुपैयाँ राष्ट्रिय अवार्ड कार्यक्रमको लागि  दिन्छ । वर्षमा चलचित्र क्षेत्रका लागि भनेर छुट्ट्याएको रकम पनि कसले कहाँ कसरी खर्च गर्छ पत्तो हुन्न । कलाकार, प्राविधिक र सिङ्गो चलचित्रलाई सरकारले उपेक्षा गरेको छ । 

यो क्षेत्रमा अवार्डहरू किनबेच हुन्छ भन्छन् नि ?

हो । तर, सबै अवार्डहरू किनबेच हुँदैनन् । तर, हिजोआज विदेशमा कार्यक्रम गर्ने, अवार्ड जस्तो महत्त्वपूर्ण चिजलाई जसले बढी रकम दियो उसलाई नै दिने, यो प्रवृत्ति पछिल्लो समय नेपालमा मौलाउँदै गएको छ । जसले गर्दा अवार्डको महत्त्व घट्दै गएको छ । यस्ता कामलाई एउटा बलियो कानुन बनाएर निरुत्साहित गर्नुपर्छ । 

तपाईँलाई नारीवादी र आँसुवादी निर्देशक भन्छन् नि, अन्य चलचित्र जस्तै कमेडी, हरर, र रोमान्टिक खालका चलचित्र बनाउनुभएको छैन ?

हरेक व्यक्तिमा आ–आफ्नै गुण र स्वभाव हुन्छ । महिलाको पिर, व्यथा, र आँसुलाई नियालेर त्यसलाई विषयवस्तुमा ढाल्ने सामर्थ्य जोकोहीमा हुँदैन । त्यसैले, मैले यसलाई अगाडि ल्याएको हुँ । जसले गर्दा हाम्रै समाजका आमा दिदीबहिनीहरूमा मेरो फिल्म हेरेर केही चेतना जागेको छ । उहाँहरूलाई सक्षम बनाएको छ । 

राजनीतिमा लाग्नुभएको छ कि छैन ?

छैन । म आफ्नै काममा व्यस्त हुन्छु । राजनीति गर्ने फुर्सदै हुँदैन । राजनीति मन त पर्छ, तर, यहाँको राजनीति नातावाद, कृपावाद, गुट–उपगुट र पैसामुखी छ । बाहिरको राजनीतिभन्दा चलचित्र क्षेत्रको राजनीति अझ बढी भयावह छ । चलचित्र विकास बोर्ड, निर्देशक समाज, कलाकार सङ्घ, प्राविधिक सङ्घ सबैमा उत्तिकै छ । म निर्देशक समाजको महासचिव हुँदा पनि सङ्घमा बढी राजनीति भएर निस्किएको थिएँ ।

नेपाली चलचित्रको अवस्था कस्तो छ ? र कस्तो बनोस् भन्ने अपेक्षा राख्नुहुन्छ ? 

पहिलेका अधिकांश नेपाली चलचित्र भारतीय चलचित्रबाट केही न केही प्रभावित थिए । तर, केही समय यताको चलचित्रहरूमा मौलिकपन झल्किन थालेको छ । अब बन्ने चलचित्रहरूमा नेपाली कला, हिमाल, धर्म–संस्कृति, वनजंगल जातजाति, खेल, अर्थतन्त्र, र समाजमा रहेका हरेक विषयलाई मौलिकपन झल्किने गरी समेट्नुपर्छ । यसो गर्न सकियो भने मात्र नेपाली चलचित्र संसारकै उत्कृष्ट चलचित्रमा दह्रिन सक्छ र नेपाली चलचित्रले आफ्नो शिर उच्च राख्न सक्छ ।

लेखक नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा रुचि राख्छन् । उनी तिनै विधामा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि