बैशाख २५, २०८१, मंगलबार
               

साहिदलाई शाकाहारी बनाउने पुस्तक

एजेन्सी
फागुन २५, २०७६

ADVERTISEMENT

बलिउड अभिनेता साहिद कपूर १७ वर्षदेखि शाकाहारी जीवन बाँचिरहेका छन् । उनी जनावरलाई निकै प्रेम गर्छन् । साहिदको जीवन बदल्न ब्रेन हाइन्सको पुस्तक 'लाइफ इज फेयर'ले महत्वपूर्ण भूमिका खेलेको छ । 

यो पुस्तक साहिदलाई उनका बाबु तथा अभिनेता पंकज कपूरले दिएका थिए, जतिबेला साहिद २२ वर्षका थिए । हवाईजहाजमा यात्रा गर्दै गर्दा साहिदले यो पुस्तक पल्टाउन थाले । 

हवाईजहाजबाट उत्रिएपछि उनले साकाहारी बन्‍ने प्रण गरे, अनि त्यसपछि आजसम्म उनी माछामासुबाट टाढा छन् । 

को हुन् ब्रेन हाइन्स ?

ब्रेन हाइन्स अमेरिकी लेखक तथा अभियन्ता हुन् । जीवजन्तुको  हिंसा र वन मास्ने मानवीय गतिविधिविरुद्ध उनले अभियान चलाएका छन् ।

कुनै समय राधास्वामीका अनुयायी थिए । उनले राधास्वामीका अनुयायीहरुका लागि नै 'लाइफ इज फेयर' पुस्तक लेखेका थिए । साहिदका बाबु पंकज पनि राधास्वामीका हुन् र आजका दिनमा साहिद आफैं पनि । 
संयाेगवस्, साहिदलाई प्रेरणा दिने हाइन्स भने अब राधास्वामीका भक्त रहेनन् । 
उनी अहिले ‘चर्च अफ चर्चलेस’ नामक ब्लग सञ्चालन गर्छन् । हाइन्स भन्छन्, ‘आज म भाग्य वा पुनर्जन्मबारे सोच्दिनँ, जसरी पहिले सोच्थेँं । एउटै कुरामा म अझै विश्वस्त छु, मृत्युअघिसम्म म परिवर्तन भइरहनेछु ।’

उनले आफ्नो शाकाहारी जीवनलाई भने त्यागेका छैनन् । ‘म स्विकार्छु, पुस्तकका कतिपय कुरा वैज्ञानिक तवरले पुष्टि हुन सकेका छैनन् । मलाई आजको दिनमा यस्तो लाग्दैन कि पुनर्जन्म वा भाग्य नै शाकाहारी हुनुको प्रमुख कारण होइन । तर, यहाँ धेरै वैज्ञानिक प्रमाण र नैतिक तर्क छन्, जसले जनावरको हत्या गर्न हुँदैन भन्ने पुष्टि गर्छ । म यस्ता तर्कमा भने आज पनि अडिग छु र शाकाहारी जीवनकै वकालत गर्छु । खानाका लागि जनावरको हत्या गर्दा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । ती जनावरमाथि पनि अन्याय हुन्छ ।’

शाहिदबारे हाइन्स भन्छन्,‘मलाई खुसी छ कि मेरो पुस्तकले साहिदलाई परिवर्तन गरिदियो । यो पुस्तक मैले सेवाभावले लेखेको थिएँ र यसबाट पाएको मूल्य नै सन्तुष्टि हो । यसले धेरैलाई शाकाहारी हुन प्रेरित गरेको छ, जुन खुसीको कुरा हो ।’ 


कस्तो लाग्यो ?

यो पनि