बैशाख १७, २०८१, सोमबार
               

ईंटा बोक्थे बुद्धि तामाङ, ‘हैट...’ थेगोले बनायो नेपालकै सफल कलाकार

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काभ्रे तिमालडाँडास्थित तिमाल गाउँपालिका–३ स्थित कुडँवाल गाउँका बुद्धि तामाङ एसएलसी दिएर जागिर गर्न ०५६ सालमा काठमाडौें छिरेलगत्तै संघर्षका दिन सुरु भए । सोचेजस्तो जागिर नपाएपछि उनले इँटाभट्टामा मजदुरी गर्न थाले ।

आमा बिरामी भएकाले उपचारका लागि केही पैसा जुटाउन यसबाहेक अर्को विकल्प थिएन । मजदुरी गरेर पैसा कमाएपछि काठमाडौंमै आमाको उपचार गराए । घन्टौँ एउटै काम गर्नुपर्दा वेलावेलामा उनी आफैँसँग प्रश्न गर्थे, ‘बिहानै उठ्यो । इँटा घोप्ट्यायो । के यही हो जीवन ?’

त्यसपछि इँटाभट्टा छाडेर बदाम बेच्न थाले । अनि बरफ बेचे । त्यसपछि पत्रिका फाल्न थाले । यही क्रममा बिस्तारै पर्यटकको भारी बोकेर ठुल्ठूला पहाड चढ्न थाले । ट्रेकिङ पेसामै आबद्ध छँदा एक दिन साथी प्रभातलाई भेट्न उनको सामाखुशीस्थित ट्युसन सेन्टर पुगेका थिए । प्रभातले शंखरनारायण प्रजापतिलाई भेटाइदिए ।

उनलाई नाटकका लागि कलाकार चाहिएको थियो । बुद्धि तयार भए । ललितपुरको स्टाफ कलेजमा केही दिन अभिनयसम्बन्धी प्रशिक्षण लिएपछि उनले सडक नाटक थाले । 

स्थायी बासिन्दा बुद्धि सानैदेखि मिहिनेती थिए । त्यही मिहिनेत अभिनयमा पनि झल्कियो । सडक नाटकमा उनको पहिचान स्थापित हुँदै थियो । तर, यहीँबाट आर्थिक गुजारा टार्न सकिने अवस्था थिएन ।

त्यसैले सुरुवाती दिनमा उनले बाटो मोड्ने कोसिस पनि गरेका थिए । वैदेशिक रोजगारीमा दुबई जाने योजना बनाएका बुद्धिले फेरि एकपटक सोचे, ‘जीवनको ऊर्जाशील समय कतै न कतै खर्च त गर्नु नै छ । चाहे सफल भइयोस् वा असफल, म कलाकारिता नै गर्छु ।’

बसभाडा तिर्ने पैसा नहुँदा धेरैपटक बालुवाटारस्थित डबली थियटरबाट जावलाखेलसम्म हिँड्दै जाने र हिँड्दै आउने गरेको अनुभव उनीसँग छ । 
दर्जनौं सडक नाटकमा अभिनय गरेपछि बुद्धिले एक्टर्स स्टुडियोमा अनुप बरालसँग तीन महिनाको तालिम लिए । त्यसपछि गुरुकुल र नाचघरमा पनि नाटक गरे । 

प्रोसिनियम थियटरमा उनको डेब्यु नाटक ‘मलामी’ निकै मन पराइयो । यस नाटकमा बुद्धिले ६५ वर्षका वृद्धको भूमिका निभाएका छन् । ‘बुढा मान्छे कसरी हिँड्छन् भन्ने विषय बुझ्नका लागि म सबैभन्दा पहिले भक्तपुर पुगेँ । पाँचतले मन्दिरअगाडि बसेर ज्येष्ठ नागरिकहरूलाई दिनभर नियाल्थेँ ।

उनीहरूका बडी ल्याङ्ग्वेज र भावलाई ल्याउनु चुनौतीपूर्ण थियो,’ उनले भने, ‘एक दिन मैले आफ्नै हजुरबुबालाई सम्झिएँ । उहाँसँगका बाल्यकालका याद ताजा गरेँ र त्यसको प्रभाव नाटकमा उतारेँ ।’

उनको अभिनयको प्रशंसा धेरैले गरे । बिस्तारै दायाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बालगायत दिग्गज कलाकारसँग सम्पर्क भयो । यतिबेला रामबाबु गुरुङ कबड्डी फिल्मको तयारी गर्दै थिए । ‘ल तिमीहरू पनि खेल्नुपर्छ भनेर रामबाबु गुरुङले प्रस्ताव राख्दा हामीलाई चाहिँ आफैंले खेलेको फिल्म कसरी चल्छ होला र भन्ने लाग्थ्यो,’ बुद्धिले सम्झिए । 

तर, यही फिल्मले बुद्धिलाई रातारात स्टार बनायो । यस फिल्ममा बोलेको ‘हैट..’ थेगो आज उनको ब्रान्ड नै भइसकेको छ । कबड्डी, टलकजंग भर्सेज टुल्के र तान्द्रोमा अभिनय गरेपछि उनी ‘मेरी बास्सै’ टेलिसिरियलमा आबद्ध भए ।

यहाँ टेलिशृंखलाले उनको हैट थेगोलाई गाउँ गाउँसम्म पुर्‍यायो । यसपछि उनले असंख्य फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनित धेरै फिल्म हिट छन् । अहिले बुद्धि तामाङ नेपालकै व्यस्त कलाकारको सुचीमा पर्छन् । 


कस्तो लाग्यो ?

यो पनि