मंसिर ०७, २०८१, शुक्रबार
               

यात्रा : नाटक र टेलिभिजन हुँदै ठूलो पर्दासम्म सरोजको स्टारडम

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

कलाकार खेम शर्मासँगको भेट सरोज खनालको जीवनमा टर्निंग प्वाइन्ट बनिदियो । शर्माले बद्री अधिकारीलाई भेटाइदिए । त्यसपछि त्रिचन्द्र कलेमा बिएस्सी पढ्न भर्ना भएका सरोजले नाट्य प्रशिक्षण र छोटो–छोटो रोलमा अभिनय पनि सुरु गरे । 

०४३ सालमा ‘भष्मासुरको नलिहाड’ नाटकमा उनले लिड रोल गर्नुपर्ने अवस्था आयो । ‘खासमा यस नाटकमा सरोजको रोल २ मिनेटको थियो । तर, मैले सबै स्क्रिप्ट उनलाई कण्ठस्थ थियो किनकि नेपथ्यबाट डायलग कण्ठ नभएका कलाकारलाई स्क्रिप्ट पढेर सुनाइदिनुपर्ने जिम्मेवारी पनि उनकै थियो ।

सो सुरु हुनुभन्दा ३ दिनअघि मुख्य कलाकारले नै समय दिन नभ्याउने बताएकपछि निर्देशक बद्री अधिकारीले सरोज खनाललाई मुख्य भूमिका खेल्न आग्रह गरे ।  

नाटक प्रदर्शनमा आएपछि सरोजको अभिनयबाट प्रभावित भएका पत्रकार तथा यस नाटकका लेखक ध्रुवचन्द्र गौतमले उनलाई स्याबासी दिए । विमर्श पत्रिकामा गौतमले नै सरोजकोे पूरा पेज अन्तर्वार्ता छापे । जसले सरोजलाई नाटकमा स्थापित हुन मद्दत गर्यो । 

टेलिभिजनको यात्रा 

आफैँले लेखेको ‘मौन आकाश’ नाटकलाई टेलिसिरियलमा उतार्ने सोच आयो । बद्री अधिकारीको निर्देशन र राजा घलेको लगानीमा सिरियल तयार भयो । तर, २ महिनाभन्दा लामो समयसम्म टेलिभिजनको सेन्सर रुममा गएर थन्किएपछि टिममा निराशा छायो । 

‘सेन्चुवाको असल मान्छे’ नामक नाटकमा गरेको जबर्जस्त अभिनयले सिरियल प्रसारणमा नआउँदाको पीडामा मलम लगाउँदै थियो । चीनको सेन्चुवा सहरमा खडेरी पर्दा पानी बोकेर सर्वसाधारणलाई पिलाउने एक असल मान्छेको भूमिका उनले निर्वाह गरेका थिए । मध्यान्तरअघिसम्म उनको अभिनयले सबैलाई हँसाएको थियो । कथाको अन्त्यमा बाढीले पूरै सेन्चुवा सहर नै बगाइदिँदा सरोजको कारुणिक अभिनय हेरेका दर्शक रुँदै फर्किए ।

दर्शकदिर्घामा रहेका भिआइपीमध्ये एक थिए, तत्कालीन नेपाल टेलिभिजनका महाप्रबन्धक निर शाह । नाटक सकिएपछि उनले सरोजलाई भेट्न चाहे । भेटमा सरोजले पनि मौन आकाश प्रसारणमा नआएको कुरा प्रस्ट राखे । त्यसपछि शाहले सिरियल प्रसारण गर्न निर्देशन दिए । रंगमञ्चमै सीमित सरोजको परिचय टेलिभिजनमार्फत घर–घरसम्म पुग्यो । 

‘जब सिरियल प्रसारणमा आयो । सरोज खनाल यही कोठामा बस्छ भन्ने थाहा पाएर मलाई हेर्न कोठा वरपर मानिसको भिड लागेको थियो,’ उनले भने, ‘नाटकका दर्शक सीमित हुन्छन् । तर, सिनेमाको प्रभाव ठूलो रहन्छ । यसले एकैदिनमा स्टार बनाइदिन सक्छ ।’

नेपाल टेलिभिजनबाटै ‘भिडदेखि भिडसम्म’ सिरियल प्रसारणमा आएपछि सरोज खनालको परिचय थप फराकिलो बन्यो । सिरियलमा उनले साधारण परिवारबाट संघर्ष गर्दै धनाढ्य बनेको एक व्यक्तिको भूमिका निर्वाह गरेका छन् । जो पछि पागल अनि भिखारी बन्छ । उनी भिखारी बनेको दृश्य अहिलेको चलनचल्तीकै भाषामा भन्नुपर्दा ‘भाइरल’ भएको थियो । 

०४६ साल पुस ६ गते ‘विजय पराजय’ नामक फिल्मबाट उनले सिने क्षेत्रमा डेब्यु गरे । ‘चोट’ र ‘मनकामना’ फिल्मको सफलतापछि सरोज तत्कालीन समयकै नम्बर वान हिरो बने । त्यसपछि ‘चोखो माया’, ‘अरुणिमा’, ‘प्रेमपिण्ड’लगायत थुप्रै फिल्म सुपरहिट भए । ‘अमेरिका जानुअघि मैले खेलेका ३१ फिल्ममध्ये १९ फिल्मले १ सय १ दिन मनाए । त्यो पनि एउटा होइन धेरै हलमा,’ उनले भने । 

अमेरिका अर्को संयोग 
सरोज ०५४ सालमा अमेरिका गए । ‘म बस्छु भनेर गएको थिइनँ । चार महिनाको सांस्कृतिक कार्यक्रममा गएको थिएँ,’ जीवनको अर्को संयोगबारे सरोजले भने, ‘तर, अमेरिकामै सेटल भएका स्कुलका मिल्ने साथीले मलाई ग्रिन कार्डका लागि आवेदन दिन सल्लाह दिए । दूतावासले आवेदन दिएको ३५ दिनभित्रै ग्रिन कार्ड दियो ।’

ग्रिन कार्ड पाएपछि श्रीमती र छोराहरूलाई अमेरिका लगेँ । ‘म एउटा कलाकारसँगै अभिभावक पनि हुँ । छोराहरू हुर्काउँदा–हुर्काउँदै १७ वर्ष बितेको पत्तो भएन,’ उनले भने, ‘तर नेपालकै लागि जन्मिएको हुँ भन्नेमा स्पष्ट थिएँ ।’

एकै सटमा १५–१६ जना भिलेन ढाल्न सक्ने, हिरोइनलाई बगैंचामा नचाउन सक्ने हस्ती हिरो अमेरिका भासिँदा धेरै फ्यान स्तब्ध बनेका थिए । सायद, ती हिरो अमेरिकामै हराए । तर, कलाकार सरोज खनाल साढे दुई वर्षअघि सधैँका लागि फर्किए । उनी अझै उस्तै छन् । ‘भनिन्छ नि हिरोको एउटा सर्टेन पिरियड लाइफ हुन्छ । तर, कलाकार सधैँ जिउँदो हुन्छ । म आफूलाई अभिनेता भन्छु,’ आफूलाई सबै चरित्रमा ढाल्न सक्ने सरोजले भने, ‘नाट्य क्षेत्रबाट फिल्ममा स्टार हुने म पहिलो थिएँ । अहिले फिल्ममा नाट्य क्षेत्रका कलाकारकै बाहुल्य छ । मलाई खुसी र सँगसँगै गर्व पनि लाग्छ ।’ 

अमेरिकाबाट फर्किएपछि उनले ‘नाइँ नभन्नु ल २’, ‘प्रेमगीत’, ‘दर्पण छाया–२’ लगायत थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरे । पुरानो पुस्ताको भिडदेखि नयाँ पुस्ताको भिडसम्म सिफ्ट हुनका लागि उनले धेरैभन्दा धेरै फिल्म लगातार खेलेका थिए । ‘सुब्बासाहेब’ र ‘पञ्चायत’मा उनी लिड रोलमा छन् ।

‘नयाँ पुस्ताले हलमा गएर मेरो फिल्म हेर्ने मौका पाएको थिएन । त्यसैले उहाँहरूसमक्ष चिनिनुपर्ने चुनौती थियो,’ उनले भने, ‘अब छनोट गरेर मात्रै फिल्म खेल्छु । कम्तीमा पनि फिल्म हेरेर हलबाट निस्कँदा दर्शकलाई यहाँ सरोज खनालको उपस्थिति छ है भन्ने महसुस होस् ।’


कस्तो लाग्यो ?

यो पनि