बैशाख २५, २०८१, मंगलबार
               

सुपरस्टार आमिर खानका सुपरफ्लप फिल्म

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

आमिर खानको ख्याति भारतमै मात्र सिमित छैन । चीन, पाकिस्तान, नेपाल, बंगलादेशलगायत विश्वका धेरै देशमा उनी चर्चित छन् । आमिरले आफ्नो करियरमा दंगल,थ्री इडियट्स्, तारे जमिन पर, पिके, रंगदे वसन्ती, लगानलगायत धेरै हिट फिल्म खेलेका छन् । उनी त्यस्ता अभिनेता हुन्, जसले खेलेका सर्वाधिक ६ फिल्मले भारतमा कुनै न कुनै समय अत्याधिक आम्दानी गर्ने रेकर्ड बनाए । सर्वाधिक आम्दानी गर्ने किर्तिमान अहिले पनि उनी अभिनित 'दंगल' फिल्मको नाममा छ । तर, आमिरले हिट फिल्ममात्रै दिएका छैनन् । फ्लप फिल्म पनि उत्तिकै खेलेका छन् । उनले ६५ प्रतिशत हिट फिल्म खेलेका छन् भने बाँकी ३५ प्रतिशत फिल्म असफल भएका छन् । सुपरस्टार आमिरका फ्लप फिल्महरुको सुची यस्तो छ : 

ठग्स अफ हिन्दुस्तान
आमिर अभिनित पछिल्लो फिल्म हो - ठग्स अफ हिन्दुस्तान । 

आमिर र अमिताभ बच्चनजस्ता दिग्गज कलाकारको अभिनयका बाबजुद यो फिल्म असफल भयो ।  ३ सय करोड भारतीय रुपैयाँमा तयार भएको यस फिल्मले न समीक्षकबाट राम्रो प्रतिक्रिया पायो, न आमदर्शककै मन जित्यो ।

मंगल पाण्डे– द राइजिङ
सन् २००५ मा रिलिज भएको यो बायोपिक फिल्म व्यापारिक रूपमा असफल फिल्मको सूचीमा पर्छ । ब्रिटिस इस्ट इन्डिया कम्पनीका भारतीय सैनिक मंगल पाण्डेले स्वतन्त्रताका लागि गरेको विद्रोहको कथा यस फिल्ममा समावेश छ । सन् १८५७ मा ब्रिटिसविरुद्ध भारतीयले गरेको विद्रोहका विषयमा बनेको फिल्ममा मंगल पाण्डेको भूमिका आमिरले नै निभाएका छन् । ऐतिहासिक पृष्ठभूमिमा बनेको यस फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पायो, तर विवादमुक्त हुन सकेन ।

मेला
७ जनवरी २००० मा यो फिल्म रिलिज भएको थियो । तर, सहस्राब्दीको सुरुवात आमिरका लागि दुःखद रह्यो । सन् १९९६ को ब्लकबस्टर फिल्म ‘राजा हिन्दुस्तानी’पछि निर्देशक धर्मेश दर्शन र आमिरले यस फिल्ममा एकसाथ काम गरेका थिए । त्यसैले दर्शकले व्यघ्रताका साथ रिलिज डेट कुरेका थिए । तर, ‘मेला’ असफल भयो । एक्सन, रोमान्स र ह्युमर मिश्रित यस फिल्ममा ट्विंकल खन्नाको पनि अभिनय थियो ।

अकेले हम अकेले तुम
सन् १९९५ मा रिलिज हुनपूर्व यो फिल्मको चर्चा पनि ठूलै थियो । यस फिल्मलाई मन्सुर खानले निर्देशन गरेका थिए । फिल्ममा स्टार अभिनेत्री मनीषा कोइराला पनि थिइन् र अनु मलिकले मीठो संगीत भरेका थिए । तर, फिल्म फ्लप भयो । मन्सुरकै डेब्यु निर्देशनमा बनेको ‘कयामत से कयामत तक’पछि आमिरले बलिउडमा स्टार छवि निर्माण गरेका थिए । ‘जो जिता वो सिकन्दर’ मन्सुरको निर्देशन र आमिरको अभिनय रहेको अर्को चर्चित फिल्म हो ।

बाजी
१९९५ मा आशुतोष गोरिकरको निर्देशनमा बनेको यो एक्सन फिल्ममा आमिर मुख्य भूमिकामा थिए । तर, फिल्म असफल भयो । यस फिल्मको प्रचार पनि निकै कम गरिएको थियो । यद्यपि, केही समयपछि आशुतोषकै निर्देशनमा बनेको फिल्म ‘लगान’ निकै सफल भयो ।

अन्दाज अपना अपना
१९९४ मा रिलिज भएको यो फिल्ममा आमिर खानसँगै सलमान खान, रविना टन्डन, करिस्मा कपुर, परेश रावल र शक्ति कपुरको अभिनय थियो । गोविन्दा अतिथि भूमिकामा देखिएका थिए । फिल्मले हलमा राम्रो व्यापार गर्न सकेन र कुनै अवार्ड पनि जितेन । त्यसैले आमिरका फ्लप फिल्महरूको सूचीमा यो पनि पर्छ । तर, यसका बाबजुद यो फिल्मलाई टेलिभिजनमा हेरेपछि धेरै दर्शकले मनपराए । अहिले पनि यस फिल्मले सकारात्मक प्रतिक्रिया पाउने गरेको छ । त्यसैले, बलिउडका 'कल्ट क्लासिक' फिल्मको सुचीमा यसको नाम छुट्दैन । 

१९४७– अर्थ
दीपक मेहताको निर्देशनमा बनेको यो फिल्म बक्स अफिसकेन्द्रित थिएन । यो फिल्म सेमी–आर्टहाउस फिल्म अर्थात् निश्चित दर्शकलाई लक्षित गरेर बनाइएको हो । आमिर खानले ब्याक टु ब्याक राजा हिन्दुस्तानी, इस्क र गुलामजस्ता सफल फिल्म दिएपछि १९९८ मा यो रिलिज भएको थियो । तर पनि यस फिल्मलाई लिएर दर्शकले कुनै रुचि नै देखाएनन् । फिल्म राम्रो बने पनि व्यापार राम्रो भएन ।
आतंक ही आतंक
हलिउड फिल्म ‘द गडफादर’बाट अत्यधिक प्रभावित यो फिल्म १९९५ मा रिलिज भएको थियो । फिल्ममा आमिरसँगै दक्षिण भारतीय सुपरस्टार रजनिकान्तले समेत अभिनय गरेका छन् । तर, फिल्म असफल भयो । आमिरका बिर्सनलायक फिल्मको सूचीमा यो पनि एक हो ।
यसबाहेक 'परम्परा', ‘जवानी जिन्दावाद’, ‘लभ लभ लभ’ ‘दिवाना मुझसा नही’, ‘इसी का नाम जिन्दगी’,‘दौलत की जंग’ पनि आमिरका असफल फिल्मको सूचीमा पर्छन् ।


कस्तो लाग्यो ?

यो पनि