जेठ ०३, २०८१, बिहीबार
               

'फ्लप' चलचित्रबाट उदाएका ५ 'हिट' कलाकार

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

भन्ने गरिन्छ, ‘संघर्ष गर्दै गर्दा असफल हुनेहरु नै सफलताका हकदार हुन् । जो आफ्नो कर्ममा दत्तचित्त भएर लाग्छ त्यो मान्छे एकदिन पक्कै पनि सफल हुन्छ ।'

यो कुरा चलचित्र क्षेत्रमा नै मज्जाले लागु हुन्छ । अझ भनौं, कलाकारमा त यसको मेल बढि खान्छ । केही राम्रो काम गर्ने कलाकार पनि सफल हुन सकेका छैनन् भने कोही सामान्य कामबाट पनि हिट छन् ।

पहिलो चलचित्रबाट 'फ्लप'को ट्याग पाएका र पछि हिट भएका उदाहरण धेरै छन् । यहाँ हामी पहिलो चलचित्रबाट फ्लप भएर पछि हिट भएका कालाकारको चर्चा गर्दैछौँ,

दीपकराज गिरी
हास्य टेलिसिरियल ‘तितो सत्य’बाट निकै चर्चा पाएको दीपकराज अहिलेको समयका सर्वाधिक सफल कलाकारमा पर्छन् । उनी अभिनित हरेक चलचित्रले बक्स अफिसमा गज्जब व्यापार गरिरहेका छन् । उनकै ‘छक्का पञ्जा’ सिरिज नेपाली चलचित्र इतिहासकै सर्वाधिक व्यापार गर्ने चलचित्रमा गनिन्छन् ।

उनले अभिनय गरेको 'छ एकान छ, वडा नम्बर छ, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, शत्रु गते, छ माया छपक्कै’ निकै हिट छन् । तर, उनको पहिलो चलचित्र 'सुन्दर मेरो नाम' असफल चलचित्रमा गनिन्छ । अहिलेको सर्वाधिक सफल कलाकारको चलचित्र यात्रा नै असफल चलचित्रबाट भएको थियो ।

प्रदीप खड्का
धेरै दर्शकलाई लाग्न सक्छ, अहिलेका स्टार अभिनेता प्रदीप खड्काको पहिलो चलचित्र 'प्रेम गीत' हो । तर हैन । उनको पहिलो चलचित्र 'स्केप' हो । जुन चलचित्रले हलमा पानी समेत भन्न पाएको थिएन । आफू अभिनित पहिलो चलचित्र असफल भएपछि प्रदीपले 'ठुलो मान्छे' नामक चलचित्र पनि बनाए । तर, उक्त चलचित्रले पनि उनलाई असफल बनाइदियो ।

चलचित्रबाट असफल भएपछि अष्ट्रेलिया हुइकिन लागेका प्रदीपलाई भुकम्पले रोकिदियो । त्यहीँ भुकम्पले नै उनको जीवनमा पनि राम्रो भुकम्प ल्याइदियो । उनले त्यहीँ समय चलचित्र ‘प्रेम गीत’मा काम गर्ने मौका पाएका थिए । यस चलचित्रले उनको करिअरलाई निकै उचाई दियो । 

प्रदीपले त्यसपछि निरन्तर चलचित्र क्षेत्रमा नै काम गरिरहेका छन् । अहिले प्रदीप नयाँ चलचित्र ‘प्रेम गीत ३’ रिलिजको तयारीमा छन् । 

प्रियंका कार्की
प्रियंका कार्की पछिल्लो समय सर्वाधिक व्यस्त नायिकामा पर्छिन् । बक्स अफिसमा धमकेदार प्रस्तुती दिन नसके पनि प्रियंकाको हातमा चलचित्र खाली छैन । सानो होस् वा ठुलो जुनसुकै भूमिकामा पनि काम गर्न तयार हुन्छिन्, प्रियंका ।   

पछिल्लो समयकी सफल नायिका प्रियंका पहिलो चलचित्रमा भने असफल थिइन् । प्रशन्न पौडेल निर्देशित चलचित्र 'मेरो बेस्ट फ्रेण्ड'बाट नेपाली रजपटमा भित्रिएकी उनले यस चलचित्रबाट फ्लप नायिकाको ट्याग पाएकी थिइन् । तर, आफ्नो असफलतामा नडराई काम गरेकी प्रियंका सफलताको शिखरमा छिन् ।

सौगात मल्ल
अभिनेता सौगात मल्लले पनि असफलताको पहिला चाल्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनी अभिनित पहिलो चलचित्र 'कागवेनी' असफल चलचित्रको सुचिमा छ ।

तर, त्यसपछि उनले धेरै सफलता पाइसकेका छन् । उनी अभिनित धेरै चलचित्र बक्स अफिसमा हिट छन् । उनको हातमा कहिल्यै चलचित्रको अभाव भएको छैन ।

पुष्प खड्का
सयौ म्युजिक भिडियोमा अभिनय गरेर चलचित्रमा आएका पुष्पले पहिलो चलचित्रबाट सफलताको स्वाद लिन पाएनन । उनी अभिनित पहिलो चलचित्र 'अझै पनि’ असफल भइदियो । मुख्य अभिनेताको रुपमा डेब्यु गरेको चलचित्र ‘दर्पण छाया २'ले पुष्पलाई सफलता दिएन । 

पुष्पले दोस्रो चलचित्र 'मंगलम'बाट भने राम्रो सफलता पाए । व्यावसायिक रुपमा चलचित्र हिट मात्र भएन पुष्पल धेरै प्रशंसक पनि कमाए । पुष्पले 'दाल भात तरकारी', ‘मारुनी’ जस्तो सफल चलचित्रमा काम गरिसेकका छन् । अहिले पुष्प चलचित्र ‘चलबाज’को छायांकन सकाएर बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि