जेठ ०३, २०८१, बिहीबार
               

गाँजा खान पनि अनुशासन चाहिन्छ

पवन बराइली
फागुन ०९, २०७६

ADVERTISEMENT

छपानीले छान छान.., कहाँमा काट्यो बेतको लौरी, अल्लारे जोवन यस्तै छ, छेउकाटी रुमाल चट्टै । पुराना पुस्ताका धेरैको जिब्रोमा झुन्डिएको तर पछिल्ला पुस्ताले बिर्सिएका यी गीतका गायक हुन्, गंगा वरदान ।

ठेट नेपाली शब्दमा गीत संगीत भरेर गाउन खप्पिस गंगा  वरदान झट्ट हेर्दा विश्वचर्चित गायक बब मार्लीजस्ता देखिन्छन् । फुलेको लामा दारी पालेका, खबटे मुहार । धेरेले उनलाई पहिलोपटक देख्दा दिने उपाधि हो ‘मान्छे त पूरै गँजडीजस्तो’

उमेरले उनी ६५ नाघे । गीत उत्तिकै गाइरहन्छन् । धेरैले थाहा नपाएको उनको एउटा परिचय हो, गँजडी । के वरदान यो अभियोग स्वीकार गर्न तयार छन् ? उनलाई किन लाग्छ गँजडीको आरोप ? नेपाल फ्ल्यासले तयार पारेको कुराकानीको संम्पादित अंश :

कहिलेदेखि गाँजा सेवन गर्न सुरु गर्नुभयो ? 

मेरो जन्म भोजपुरको दिङ्लामा भएको हो । भोजपुरको दिङ्लामा हुँदै गाँजा खान सुरु गरे । भर्खर एसएलसी पास भएको थिएँ । त्यहीवेला बुबा बित्नुभो । म १७ वर्षको मात्रै थिएँ । बुबा बितेपछि एकखालको एक्लोपनले गाँज्यो । त्यसबेलादेखि नै अलिअलि खाने खर्थेँ । 
त्यसबेला गाउँका बुढापाका खुब गाँजा खान्थे । मलाई भने खान मन लाग्दैनथ्यो । त्यसबेला काठमाडौंबाट मेरो भतिज पनि गाँउ पुग्यो । उसले पनि गाँजा लिएर आएको रहेछ । मलाई थाहा थिएन, भतिजसँगै गाउँका केही साथीभाइ पनि गाँजा खाँदारहेछन् । साथीभाइसंँगको लहलहैमा लागेर एक÷दुई सर्काे तान्न थालिएछ । बिस्तारै बानी नै पर्याे । 

गाँजाले व्यक्तिगत मा असर पारेको छ कि छैन ? 

ड्रग्स खाएर पागल भएर सुधार केन्द्रमा बसेका धेरै देखेको छु । मलाई हेर्नुन् न, के भएको छ ? अहिलेसम्म कुनै रोग छैन । मैले कुनै पनि गीतको रोयल्टी अहिलेसम्म पाएको छैन । तैपनि, श्रीमती पालेर बसेकै छु । स्वास्नी  श्रीमती) पालेको नदेख्ने गाँजा खाएको मात्रै देख्ने ?
संसारका साहित्यकार, लेखक, गीतकार सबैले गाँजा खान्छन् । तर, मलाई नै किन लेजेन्ड भनिएको हो ? अचम्म लाग्छ बा !
अहिले श्रीमतीसँग बस्छु ।मेरो श्रीमतीलाई मेरो बानी सबै थाहा छ । उसलाई मेरो श्रीमान कस्तो छ भनेर थाहा हुन्छ । इसाराले नै कुरा बुझ्छिन् । उनले सधैं राम्रो मान्छेसँग बसेर खानुस् भन्छिन । हाम्रो जोडी देख्दा दुनियाँ छक्क पर्छन । हामी सँगै घुम्न जान्छौं । 

तपाईंलाई  गाँजा कसरी जुट्छ
बानी परेपछि गाँजाको सर्काे तान्न मन लाग्छ । खाउँखाउँ लागेको बेला गाँजा खाना नपाएको दिन कयौँ छन् । तर, गाँजा खोजेरै चाँहि हिँड्दनँ । कसैलाई पनि माग्दिनँ । मसँग प्रसस्तै छन् । म कसैलाई गाँजा ल्याइदे, ख्वाइदे पनि भन्दिनँ । मलाई जहाँ पनि ढोका खुल्ला छ । दुई÷तीन वर्ष अघिसम्म कसैले गाँजा किन्दिने पनि थिए । तर, अहिले किनेरै खान्छु । मजस्ता नियमित गाँजा खाने धेरै छन्  । जाउँ हजुर खाउँ भन्दाभन्दै जुटि पो हाल्छ त गाँजा ।

गाँजा खानु गैरकानुनी भएन र  ? 

म गाँजा खान्छु भन्ने कुरा अब नौलो रहेन । यतिसम्म कि पुलिसलाई पनि थाहा छ । एकताका धरानको गीताभवन चोकमा एउटाले आएर गाँजा दियो । पुलिस आयो समात्न खोज्यो । मैले उल्टै प्रश्न गरेँ –कसले खान्न गाँजा ? दुनियाँ गाँजा खाएर पागल भएर हिँड्दा केही नहुने गंगा वरदानले खाँदा पागल भयो ?

आँखा चिम्मेर गाली देको, अनि एकछिनपछि यसो आँखा खोलेको त पुलिस अघि नै टाप कसिसकेछ । त्यसपछि, म चोकमै धुवाँ उडाउन थालिहालेँ ।

तपाईं गाँजा किन खानुहुन्छ ? 

मलाई गाँजाले शान्ति र आनन्द दिन्छ । खाँदा कसैको पनि याद आउँदैन । अर्कै दुनियाँमा पुगिन्छ । सेक्स होइन गाँजा रोज्छु तपाईंलाई गफ दियो बुढाले भन्ने लाग्ला । तर सुन्नुस्, म गाँजा र सेक्समध्ये एउटा रोज् भन्दा गाँजा रोज्ने मान्छे हो । उमेरमा पनि म सेक्स धेरै गर्दिनथेँ ।

तपाईंलाई थाहै छ नि (फिस्स हाँस्दै) सेक्स बदनामको बाटो, गाँजा आनन्दको स्रोत हो ।
म उमेरमा पनि सेक्सको पछि लागिनँ, हिँडिनँ । आफ्नो इच्छाको कुरा हो । अझै पनि धेरै युवती छन् । तर, नम्बर लिने र म्यासेज गर्ने गर्दिनँ । मेरो स्वभाव त्यस्तो छैन । मेरो ठाउँमा अरू भएको भए सँगै बस्थे होलान् । मेरो नैतिकताले दिँदैन । मेरो श्रीमती र परिवार छन् ।

अहिलेसम्म कस्ता मान्छेसँग बसेर खानुभएको छ ? 

मन्त्रीसँग पनि गाँजा खाइयो । पञ्चायतकालका मन्त्रीहरूसँग पनि गाँजा खाएको छु । अहिले ती गाँजा खाने मित्रहरू कता हराए, भेट्दै भेट्दिनँ । मलाई राम्ररी थाहा छ, मसँग गाँजा खाएकाहरू राम्रा ठाउँमा पुगेका छन् । तर, उनीहरूलाई म ठूलो मान्दिनँ ।

मसँग गाँजा खाने धेरै छन् । साँच्चै भन्ने हो भने गनेर भ्याउने अवस्था नै छैन । गाँजा खाएर सानो र ठूलो मान्छे भन्ने हुँदैन । को छ ठूलो मान्छे देखाउनुन त ? जागिर नखाई र कसैलाई नलुटी कसले श्रीमती पालेको छ ? तर, गाँजा खाएर पनि बिहानदेखि बेलुकासम्म क्यास खर्च गर्ने हिम्मत कोही छ भने त्यो गंगा वरदान मात्र हो ।

गाँजाले मानिसलाई पागल बनाउँछ भन्छन् नि ?

ट्याब खाएर धेरै बदनाम भएका छन् । तर, मचाँहि गाँजा खाएर मन शान्त पारेर कुटीमा बस्ने हो । गाँजा खाएर संसारमा कोही पनि बिग्रिएका छैनन् । यो त औषधि पो हो त । म कसैलाई गाँजा नखाऊ भन्दिनँ । आफ्नो इच्छाको कुरा हो । मनले माग्यो भने खाइदिए हुन्छ, बालै भएन ।
गाँजा खाएर कोही मरे मर्छन्, मलाई मतलब छैन । तर, खाएर बदमासी गर्नुभएन । लिमिटमा खानुपर्छ । ट्याब खाने मान्छेचाँहि काम लाग्दैन, लेखेर राख्नुस् । र अर्काे कुरा, गाँजा खान पनि अनुशासन चाहिन्छ ।

दिनमा कति चिलिम तान्नुहुन्छ ?

दिनमा ६० पटकसम्म गाँजा खाएको छु । विवाह गर्नु पहिले दिनको ५० र ६० पटक गाँजा खान्थेँ । जोगीसँग बसेर पनि खाएँ । बेलुका १२ बजे सम्म पनि खान्थेँ । मेची–महाकाली यात्रा गर्दा गंगा वरदानसँग बस्दा गाँजा खान र गीत सुन्न पाइन्छ भनेर झुम्मिने धेरै थिए । मैले सबैको आर्शिवाद पाएको छु ।गाँजा कति खाने भन्ने मनको कुरा पनि हो । दिनको ५÷६ चिलिम खान्छु । कहिले साथीभाई भेट्दा मात्रै खान्छु । पहिलेभन्दा धेरै कम गरेको छु ।

बराइली राजनीति, समाज र समसामयिक विषयबस्तुमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि